तुलसीपुर । दोस्रो तुलसीपुर महोत्सवमा विभिन्न शीर्षक मार्फत काम गरेका दश जना व्यवसायीहरुले आफूहरुले भुक्तानी नपाएको जनाएका छन् । उनीहरुले आज मंगलवार तुलसीपुरमा पत्रकार सम्मेलन गरी महोत्सव सञ्चालन भएको आठौं दिनसम्म सबै भुक्तानी पाउने सम्झौता भएपनि अहिलेसम्म भुक्तानी नपाएको गुनासो गरेका छन् ।
उनीहरुले पत्रकार सम्मेलनमा अहिलेसम्म रकम भुक्तानी दिनेमा आयोजकहरुले आनाकानी गरिरहेको पिडित व्यवसायीहरुले बताएका छन् । उनीहरुले महोत्सवको लागि काम गरेकाको ३४ लाख ६१ हजार ३०० रकम भुक्तानी गर्न बाँकी रहेको समेत बताएका छन् । महोत्सवमा जग बहादुर वलीले ग्रिल सम्बन्धी समान दिएको ४ लाख ४४ हजार, टंकप्रसाद खड्काले छापाखानाको काम १ लाख ३४ हजार, तारा प्रसाद भुसालले होटलमा खाना खुवाएको ९० हजार, देव बहादुर विकले गाडीमा समान ओसारपसार गरेको २४ हजार, दिवेदक विनोद कामीले समान तथा काम गरेको १ लाख ४३ हजार ८ सय, सन्तोष खड्काले वाइरिङ सम्बन्धि समान दिएको ४ लाख भुक्तानी गर्न बाँकी छ ।
त्यस्तै गोरख वलीले जस्ता पाता र पाइप दिएको ४ लाख, प्रभात चौधरीले साउण्ड सम्बन्धी समान दिएको ६० हजार, सुदन चौधरीले वाइरिङ गरेको ४२ हजार, सोमराज खत्रीले मेलाको प्रचारप्रसार गरेको १ लाख ८३ हजार ५ सय, गणेश प्रसाद पन्तीले टेन्ट सम्बन्धी काम गरेको १६ लाख ४४ हजार गरी जम्मा ३४ लाख ६१ हजार ३०० रुपैयाँ महोत्सवले भुक्तानी गर्न बाँकी छ । महोत्सव ठेकेदार घनश्याम श्रेष्ठ र भरत वलीले समेत खटाएर काम गराएको पिडित व्यवसायीहरुले बताए ।
पीडित व्यवसायी गणेश प्रसाद पन्तीले चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले आफुसंँग भुक्तानीको रकम नमाग्न आग्रह गरेको बताए । महोत्सवबाट १६ लाख ४० हजार रुपैयाँमा १ लाख रुपैयाँ भुक्तानी पाइसकेको र १५ लाख ४० हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उनको भनाइ छ । आफ्नो पैसा फिर्ता गर्नका लागि कानुन बमोजिम कागजातहरु तयार गरी सम्बन्धित निकायमा जादा पनि सम्बन्धित निकायहरुले कुनै किसिमको चासो नदेखाएको उनको गुनासो छ ।
पीडित व्यवसायी अर्जुन केसीले चेम्बर अफ कमर्सको अध्यक्षले चाहेमा आफूहरले पैसा भुक्तानी पाउन सक्ने र नचाहने भुक्तानी नपाउने बारे विश्वस्त रहेको बताए भुक्तानी नपाउनुमा सबैभन्दा ठुलो हात चेम्बर अफ कमर्सका अध्यक्षको रहेको पीडित व्यवसायहरु बताए । चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि १८ गतेसम्म दोस्रो तुलसीपुर महोत्सव संचालन भएको थियोे ।











