काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्नुपर्ने बताएकी छन् । सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यसअघि पनि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले भूमिका खेलेको र आगामी दिनमा पनि त्यसमा लाग्न सुझाव दिएकी हुन् ।

नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन, तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन उहाँले निर्वाह गरेको भूमिकाको सराहना गर्दछु’, भण्डारीले भनिन्, ‘साथै भविष्यमा समेत यस किसिमको रचनात्मक पहलकदमी अग्रसरता कायम राख्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट ठुलो योगदान पुग्ने नै छ ।’

राजनीतिक दलले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसाथ गर्नुपर्ने भन्दै भण्डारीले बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनैपनि राजनीतिक घटना तथा परिघटनाले विचलित तुल्याउन नसक्ने बताइन् ।