काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) पाँच जना कर्मचारीलाई निलम्बित गरेको छ ।

केआइआइटीले मङ्गलबार विज्ञप्ति जारी गर्दै दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आइआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिएको छ । साथै दुई जना सुरक्षा कर्मचारीलाई बर्खास्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘‘१६ फेब्रुअरीमा भएको घटनाप्रति केआइआइटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू गहिरो दुःख व्यक्त गर्दछन् । दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ,’’ कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको छ ।’’

यसैगरी, कर्मचारीहरूले विद्यार्थीलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन अधिकतम् प्रयास गरिरहेको विज्ञप्तिमा भनिएको छ । ‘‘क्याम्पसमा नेपाली विद्यार्थीलाई फर्काउन सहज बनाउन क्याम्पस ६ मा एक प्रतिबद्ध नियन्त्रण कक्ष चौबिसै घण्टा सञ्चालनमा छ,’’ विज्ञप्तिमा भनिएको छ । बुटबल घर भएकी २० वर्षीया प्रकृति आइतबार अपराह्न ३ देखि ४ बजेको आसपासमा उनको शव कलेजको छात्रावासमा भेटिएको थियो ।

प्रकृतिलाई पटकपटक मानिसक यातना दिएको आरोपमा सोही कलेजका विद्यार्थी अड्विक श्रीवास्तव पक्राउ परेका छन् । उनलाई विजुपटनायक अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । उनले राति साढे ८ बजे विजुपटनायक अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकाताको सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थल जानलाई टिकट काटेको फेला परेको थियो । श्रीवास्तवले लम्साललाई पटकपटक दिइरहेको मानिसक यातनाबारे प्रमाणसहित कलेज प्रशासनमा दुई पटक उजुरी दर्ता भएको खुलेको छ । उजुरीपछि पहिलो पटक उजुरी पर्दा केही दिन कलेजबाट निलम्बन पनि गरेको थियो । तर दोस्रो पटक भने कलेज प्रशासनले सामान्य अवस्थामा उनलाई उनमुक्ति दिएको पाइएको छ ।

केआईआईटी कलेजमा नेपाली विद्यार्थी पठाउने काठमाडौंस्थित एड्मिज एजुकेशनले विद्यार्थी पठाउने गरेको छ । त्यहाँ इञ्जिनियरिङ, व्यवस्थापन, कानून, मेडिकलसहितका विभिन्न कोर्समा नेपाली विद्यार्थी अध्ययन गर्ने गर्दछन् । सो अलेजमा अहिले कम्तिमा १४ सय नेपाली विद्यार्थी अध्ययनरत् छन् ।