इन्द्रेणी संवाददाता
दाङ । दाङमा आगामी फागुन ५ गते नेकपा एमालेको भव्य जनसभा हुँदैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा हुन लागेको उक्त जनसभामा मान्छे उतार्न १७६ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको हो ।

नेकपा एमाले दाङको आज बुधवार घोराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकले पार्टीका जिल्ला अध्यक्ष शिवकुमार आचार्यको संयोजकत्वमा १७६ सदस्यीय मूल व्यवस्थापन समिति बनाएको हो । जनसभामा एमालेले ५० हजार बढी समर्थक उतार्ने संकल्प गरेको छ । जसका लागि जिल्लाका दशवटै पालिकामा रहेका आफ्ना विभिन्न जनवर्गीय संगठनहरुलाई निर्देशन समेत दिएको छ ।

त्यस्तै जनसभालाई व्यवस्थित र भव्य बनाउने भन्दै पार्टीका जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको संयोजकत्वमा जनपरिचालन उपसमिति, सचिव श्याम डाँगीको संयोजकत्वमा मञ्च ब्यवस्थापन उपसमिति, सचिवालय सदस्य सुदन केसीको संयोजकत्वमा स्वयमसेवक परिचालन उपसमिति, प्रचार विभाग प्रमुख संगित बस्यालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति समेत गठन गरेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फागुन ५ गते बस्ने सिनेट बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली दाङ आउँदैछन् । सो अवसरमा एमालेले आयोजना गरेको जनसभालाई पनि ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

वडाध्यक्ष शाहलाई कारवाही
यसैगरी बैठकले घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र शाहलाई कारवाही गर्ने निर्णय गरेको छ ।

शाहले पार्टीको हित विपरित काम गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको एमाले प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिएका छन् ।

शाह गएकोको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बन्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । शाहमाथि फेसबुकमा एमाले र नेतृत्वविरूद्व जथाभावी लेख्दै आएको आरोप छ ।