पोखरा। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले बचत राखेको रकम हिनामिना आरोपमा अदालतबाट मुद्दा चलेका जिबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको छ । जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले यसअघि सहकारी ठगीमा मात्र मुद्दा चलाइएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण थपिएको बताए ।

जिबीका विरुद्ध राष्ट्र बैंक ऐनविरुद्धसमेत काम गरेकाले त्यो अभियोग पनि थपिएको छ । सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले अदालतमा मुद्दा विचाराधीन रहेका राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गरिएको बताए । “मुद्दा विचाराधीन रहेका १९ जनाविरुद्ध आज पूरक अभियोग दर्ता भयो । अन्यको हकमा आज भ्याइँदैन”, शर्माले भने ।

सहकारी पीडितहरुले पूरक जाहेरी दिएपछि कास्की प्रहरीले अनुसन्धान गरी मङ्सिर २६ गते १९ जनाविरुद्ध थप अनुसन्धान गरी पूरक प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी राई), पूर्वअध्यक्ष भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेललगायतमाथि प्रहरीले पहिलो चरणमा अनुसन्धान गरी मुद्दा दर्ता गरिएको थियो ।

सूर्यदर्शनका पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरूङ, भविश्वर अर्याल, आइस्मा गुरूङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङ, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध सहकारी ठगी मुद्दा अदालतमा विचाराधीन छ ।

गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध आइतबारमात्र कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता हुने भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहनुभएका लामिछानेसहित पाँच जनाविरुद्ध अदालतले दिएको म्याद शुक्रबार सकिँदै छ । सूर्यदर्शन ठगी प्रकरणमा अहिलेसम्म नौ जना पुर्पक्षका लागि कारागारमा हुँदा पाँच जना हिरासतमा छन् । यो ठगी प्रकरणका मुख्य मुख्य योजनाकार जिबी राइसहित ३७ जना फरार छन् ।