गणेश आचार्य
दाङ । तुलसीपुर–६ की देवका शर्मा र बिरवल शर्मालाई व्यवसाय दर्ताका लागि सिफारिस लिनुपर्ने भयो । तर सिफारिस लिन वडा कार्यालयमै पुगेर पालो कुर्नुपर्ला भन्ने चिन्ता थियो शर्मा दम्पत्तीलाई । कागजात बोकेर वडामा जानुपर्ने झन्झट भइरहेका बेला व्यवसाय दर्ता अनलाइनबाटै गर्न सकिने खबर कानसम्म आइपुग्यो । सोही अनुरुप वडाबाट अनलाइनबाटै सिफारिस बनाए ।

अनलाइनबाट ई–सिफारिस लिने देवका र बिरवल तुलसीपुरको पहिलो सेवाग्राही हुन् । ‘अनलाइनबाट धेरै सजिलो भयो’ देबकाले भनिन्,‘ पाँच मिनेटमै मेरो काम सकियो, जमानाअनुसारको प्रबिधि गज्जब लाग्यो । प्रविधिको सदुपयोग गर्न सके डिजिटल युगमा सुविधा पनि उत्तिकै छ ।’

तुलसीपुर उपमहानगरपालिकालाई पेपरलेस उपमहानगर बनाउने नीति अनुरुप वडा नम्बर ६ बाट ई–सिफारिसको काम सुरू भएको छ । अबनागरिकले आफुलाई आवश्यक परेका कुनै पनि कागजात अनलाईनमा प्रक्रिया पूरा गरेपछि मोबाईलबाटै सजिलै प्राप्त गर्न सकिने वडाध्यक्ष दुजमान भण्डारीले बताए ।

‘इ सिफारिस सेवाका लागि मोवाईलको प्ले स्टोरमा गएर तुलसीपुर एसएमएस एप्लिकेसन डाउनलोड गरेर सेवालिन सकिन्छ ।’ उनले भन्ने,‘सेवाग्राहीले आफुलाई आवश्यक परेका पञ्जिकरण (जन्मदर्ता, विवाहदर्ता, बसाइँसराइ, मृत्यु दर्ता) वाहेकका सबै सेवा अनलाइनबाट लिन सक्छन ।’ यो सेवाले पालिकालाई पेपरलेस बनाउने अभियानलाई सहयोग पुग्ने वडा अध्यक्ष भण्डारीले बताए । तुलसीपुर उपमहानगरपालिकाका सूचना प्रबिधि अधिकृत सविन केसीका अनुसार ई–सिफारिस सेवा लिन सबैभन्दा पहिला मोवाइल एप्स डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड गरेर रजिष्टे«शन गरिसकेपछि चाहिएको सिफारीस लिन आवश्यक कागजात अपलोड गरेर निवेदन दिन सकिने छ ।

सोही निवेदनका आधारमा कागजात सहि छ वा छैन भन्ने विषयमा हेर्ने जिम्मेवारी सम्बन्धित वडाको सचिवलाई प्रदानगरिएको छ । तर,वडाध्यक्षले पनि हेर्न सक्ने व्यवस्था मिलाइएको केसीले बताए । ‘कागजात अपुग भएमा थप गर्न र प्रक्रिया मिलेको खण्डमा राजश्व बुझाउने सूचनाको सन्देस सेवाग्राहीको मोबाइलमै आइपुग्नेछ ।’ यनले भने,‘त्यसपछि सेवाग्राहीले राजश्व मोबाईलबाटै दाखिला गरेर भौचर अपलोड गर्नुपर्छ र प्राप्त फाईललाई सम्बन्धित वडा सचिवले सम्बन्धित वडा अध्यक्षलाई फरवार्ड गरिदिएपछि वडा अध्यक्षले ई–हस्ताक्षर गरेर सेवाग्राहीलाई फरवार्ड गर्नुहुन्छ ।’

उनका अनुसार सिफारिस प्राप्त भएको सूचना सेवाग्राहीलाई तत्कालै मोवाइलम ाजानकारी हुन्छ । त्यसपछि मोवाइलमा डाउनलोड गरेर ई–सिफारिस प्राप्तगर्न सकिन्छ । ई–सिफारीस सुरू भएपछि देशका जुन कुनै ठाँउमा भएपनि सिफारीसकै लागि पालिका पुग्नुपर्ने समस्या सधैका लागि हटेको छ । वडा नम्बर ६ बाट सेवा आरम्भ गरिएको छ भने अन्य वडाहरुले पनि परिक्षण गरिरहेका छन् । सूचना प्रविधि अधिकृत केसीले तत्कालका लागि वडाबाट प्रदान गरिने ३४ प्रकारका सिफारिस अनलाइनबाटै प्राप्त गर्न सकिने बताए ।
अनलाइनमै घर नक्सापास
तुलसीपुर उपमहानगरपालिकामा लागू भएको ई–घर नक्सापास सेवाले स्थानीय नागरिकलाई खुशी थपेको छ । विगतमा अनलाइन सेवान हुँदा सेवाग्राहीका फाइल हराउने, फाइलिङ गरिएका कागजात सेवाग्राहीले भनेकै बेला खोज्दा नभेटिने, कतिपय झुट्टा विवरणहरू समेत पेश हुन सक्ने समस्या थियो ।

पहिले घर नक्सा पासको कामगर्न सुरूमा फाईल बोकेर पालिकामा पुगेरै निवेदन दिनुपथ्र्यो । निवेदन दर्ता पश्चात सम्बन्धित वडा कार्यालयमा वडा सर्जिमिनका लागि फाइल बोकेर जानुपर्ने बाध्यता थियो । तर अहिले त्यो समस्या हटेर गएको छ । घर नक्सा पासको सबै काम अनलाइनबाटै हुने भएपछि समय र पैसाको बचत भएको सेवाग्राही पुर्णबहादुर बिष्टले बताए ।

‘पहिलेको प्रक्रियाअनुसार वडामा सर्जिमिनमा पुग्दा समेत घरको डिजाइन र तलाको समेत एकिन भैसकेको हुदैनथ्यो ।’ उनले भने,‘तर अहिले डिजिटल सिफारीसमा सबै भन्दा पहिला घर निर्माणका लागि नक्सा तयार गर्नुपर्छ ।’ सोही बमोजिम घरको आकार र कति तलाको बनाउने भन्ने विषयमा पूर्व तयारीका लागि सजिलो हुने गरेको सेवाग्राही तुलसीपुर–१८ काझविलाल घिमिरेले बताए । विष्ट र घिमिरे प्रतिनिधि मूलक पात्र भएपनि तुलसीपुर उपमहानगरपालिकामा आर्थिक वर्ष २०७७÷७८ को पुसबाट सुरू भएको अनलाइन घर नक्सापास सेवाले झोलामा कागज बोकेर कार्यालय धाइरहनुपर्ने बाध्यता पूर्णरूपमा हटेर गएको छ ।