चितवन । गृहमन्त्री रमेश लेखकले अहिलेको गठबन्धनको सरकार परिवर्तन हुने हल्ला मात्रै भएको दावी गरेका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले सरकार परिवर्तन हुने र अर्को सरकार बन्ने भन्ने हल्लाको अर्थ नभएको बताए । सरकार फेरबदल भइरहँदा देशमा अस्थिरता हुने धारणा उनको थियो ।
“यो सरकार परिवर्तन हुने कुनै सम्भावना छैन । नेपाली कांग्रेस र नेकपा एमालेको बिचमा हामीले जुन सहमति गरेकाछौँ, त्यो सहमति अनुसार सरकार २०८४ सालसम्म नै अघि बढाउछौँ,” उनले भने । सरकार सञ्चालनका सम्बन्धमा सत्ता साझेदार दलहरूमा समस्या नभएको स्पष्ट पार्दै उउनले भने “हामीमा अत्यन्तै सरल र सौहार्दपूर्ण वातावरण रहेको छ । अनि कसरी सरकार परिवर्तनको कुरा आउँछ ?”
दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर एउटा नयाँ राजनीतिक समीकरण सुरु गरिएको बताउँदै लेखकले जब देश विशिष्ट अवस्थामा रहन्छ, तब नेपालको राजनीतिमा कांग्रेस र एमाले एक भएर उभिने गरेको धारणा राखेका थिए ।











