सुनसरी । सुनसरीमा प्रहरीले सरकारी नम्बर प्लेटका दुई वटा गाडी ६९० किलो गाँजासहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धरानको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको गाडीलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।

धरान उपमहानगरपालिका–१३ अमरहाट भन्ने ठाउँमा प्रहरीको जाँच छलेर भाग्ने क्रममा गाडीलाई गएराति नियन्त्रणमा प्रहरीले जनाएको छ । गाडी नियन्त्रणमा लिदा प्रहरीले चार राउन्ड गोली समेत चलाएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बा १ झ ५१२७ नम्बर प्लेट कानून तथा न्याय मन्त्रालयको गाडीसँग मेल खाएको छ । त्यसैगरी बा १ झ ४६०५ नम्बर प्लेट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडीसँग मिलेको छ । तर नम्बर प्लेट मिले पनि गाडी सम्बन्धित कार्यालयको हो कि होइन भन्ने विषय अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताएका छन् ।

गाँजासहित मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का श्यामकुमार विश्वकर्मालाई पक्राउ गरेको र फरार भएका अर्का चालकको खोजी भइरहेको छ ।