काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच गएराति नयाँ सत्ता गठबन्धनमा सहमति भएको छ । लामो गृहकार्यपछि दुई दलका शीर्ष नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई नेताले संविधान संशोधनको एजेण्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। पहिलो चरणमा डेढ वर्ष नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमापछि कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

पहिलो सरकारमा एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने समेत सहमति भएको कांग्रेसका एक नेताले बताए । दुई दलबीचको सहमतिलगत्तै मध्यरातमा कांग्रेस र एमालेका नेताहरू शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका थिए ।

सत्ता साझेदार नेकपा एमालेले का‌ग्रेससँग सहमतिको हात अघि बढाएपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ।