काठमाण्डौ । आज २४० वर्षको निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य भएको दिन । अर्थात जनताको बलबाट स्थापना भएको गणतन्त्र दिवस । यो दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

आजकै दिन २०६५ साल जेठ १५ गते विधिवत् रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । तर गणतन्त्रको डेढ दशक बित्दा पनि नागरिकमा निराशा कायमै छ । राजनीतिक दलका पछिल्लो क्रियाकलापका कारण जनताले झनपछि झन गणतान्त्रिक शासनमा निराश भएका छन् ।

सुशासनको खस्कँदो अवस्था छ । सरकारका उच्च पदस्थ कर्मचारी, मन्त्री, उपप्रधानमन्त्रीलगायत नै भ्रष्टाचार र अनियमिततामा संलग्न भएको घटना सार्वजनिक भइरहँदा नागरिकमा असन्तुष्टि छ । गरिखाने वर्गलाई अझै हातमुख जोड्न धौ–धौ भइरहेकै छ । देशका जनसक्तिका रुपमा रहेका युवाहरु विदेश प्लाइन भइरहेका छन् । दिवसको अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

गणतन्त्रमा प्रधानमन्त्रीको शुभकामना सन्देश
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गणतन्त्रका लाभहरूलाई आम नागरिकमा पुर्‍याउन दृढतापूर्वक प्रयास गरिरहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा आज मङ्गलबार देश विदेशमा रहेका समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइमा शुभकामना दिदै प्रचण्डले सो दृढता व्यक्त गरेका छन् ।

‘‘नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधान सभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको दिन गणतन्त्र दिवसको अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाइसहित शुभकामना व्यक्त गर्दछु’’, शुभकामना सन्देशमा भनिएको छ ।