दाङ । दाङमा फागुन १८ देखि २१ गते सम्म बाह्रौं अन्तरास्ट्रिय लोकसांस्कृतिक महोत्सव हुने भएको छ । एभरेष्ट नेपाल कल्चर ग्रुप काठमाण्डौंको आयोजन तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानीय आयोजनमा महोत्सव हुन लागेको हो । दाङ जिल्ला उद्योग वाणिज्य संघले पत्रकार समेलन गरी महोत्वसको बारेमा जानकारी समेत दिएको छ ।
स्थानीय तथा देशको मौलिक कला तथा संस्कृतिलाई विश्व समुदाय समक्ष परिचित गराउने उद्देश्यले नेपालसहित भारत, जर्मन, अस्टे्रलिया, वेल्जियम, बोत्स्वाना, इस्टोनिया, ईजरायल, मलेशिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका तथा दक्षिण कोरीयाका करिव ३०० जना राष्ट्रिय तथा अन्तरास्ट्रिय कलाकारद्वारा महोत्वमा सांस्कृतिक प्रस्तुति रहनेछ ।
दाङ जिल्लाको मौलिक परम्परागत कला संस्कृति सम्वन्धित महत्वपूर्ण नाच र राष्ट्रिय स्तरमा प्रसिद्ध परम्परागत नाचहरुपनि प्रस्तुति रहनुका साथै यस क्षेत्रको पर्यटन तथा व्यवासायिक क्षेत्रमा टेवा पुग्ने महोत्सव मूल आयोजक समिति संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले बताए । दाङ जिल्लासहित देशकै लोक तथा मौलीक कला विश्वसामु उजागर हुने भन्दै यस अन्तराष्ट्रिय लोक महोत्सवले जिल्लावासिीलाई विभिन्न देशको कला, संस्कृति तथा भेषभुषालाई अवलोकन गर्ने अवसर हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा दाङ जिल्लामा उत्पादन हुने परिकारहरु रहने जानकारी दिदै मूल आयोजक समिति सह–संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकरीले १८ गते दाङ झल्किने झाक्री, भेषभुषा सहित घोराही परिक्रमा गरि कार्यक्रम स्थलमा पुगेर स्थानीय कलाकारको बेजोड प्रस्तुति साथ उद्घाटन हुनेछ भने १९ र २० गते राष्ट्रियस्तरका कलाकारसहित स्थानीय कलाकारको प्रस्तुति रहने बताए । २१ गते सोमबार नेपाल सहित १३ देशका तीन सय कलाकारहरुको आफ्नो देश मौलिक झल्किने प्रस्तुति रहनेछ । महोत्सव घोराहीस्थित कृषि समाग्री कम्पनीको खुल्ला मैदानमा हुनेछ ।
बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव सफल विभिन्न उपसमितिको समिति चयन गरिएको छ । जसमा आर्थिक समिति संयोजक जगत आचार्य र सह संयोजक पुष्कर न्यौपाने , टिकट व्यवस्थापन समिति संयोजकमा विकास वली, सहसंयोजक विक्रम राना सदस्य युवराज पन्त, व्यानर सहयोग संयोजक उपाध्यक्ष लिलाराम खड्का सहसंयोजक रामप्रसाद पोखेल र सदस्यमा सुरज बुढाथोकी, प्रचार प्रसार समिति संयोजकमा युवराज पोख्रेल, भौतिक निमार्ण समिति संयोजकमा माधव खनाल र सहसंयोजक रुद्र शर्मा रहेका छन् ।
त्यसैगरी अवास व्यवस्थापन समिति संयोजकमा नरेश कुमार श्रेष्ठ र सहसंयोजक दिपक पण्डित, भोजन व्यवस्थापन समिति संयोजक बिष्णु प्रसाद रिजाल सह(संयोजक नोर्बु तामाङ र सदस्यमा लिला नेपाली, शोभायात्रा व्यवस्थापन समितिको संयोजक ध्रुव कुमार गहतराज सहसंयोजकमा नोर्बु तामाङ, सदस्य लिला नेपाली र अतिथि सत्कार व्यवस्थापन समिति संयोजक निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकीलाई चयन गरिएको छ ।
