दाङ । आज केही प्रदेशका पहाडी जिल्लामा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना छ । पहाडी जिल्लामा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात भएपनि वेलुकादेखि भने मौसम सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बाग्मती प्रदेशका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना छ । पश्चिमी वायु सक्रिय भएसँगै यी क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । पश्चिमको तुलनामा काठमाण्डौसहित मध्य र पूर्वी पहाडी क्षेत्रमा कम पानी परेको छ ।

हल्का पानी परेको ठाउँमा हिउँदेबालीलाई फाइदा भएको छ । आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँहरु तथा गण्डकी, बाग्मती र कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । आज बेलुकीदेखि पानी पर्ने क्रम हट्दै जाने महाशाखाले जनाएको छ ।