उदयपुर । देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अवलोकन गरेका उद्योग प्रशासनले जनाएको छ ।
दिनानुदिन सिमेन्ट उत्पादन घट्दै गएको र उद्योगका अधिकांश संयन्त्र जीर्ण बन्दै गएको अवस्थामा प्रधानमन्त्रीले अनुगमन गरेपछि उद्योग सुधार हुने अपेक्षा नागरिकले गरेका छन् ।
उदयपुरको जलजलेमा स्थापना भई सञ्चालन हुँदै आएको उक्त उद्योग जीर्ण भएर बन्द हुन लागेको अवस्थामा प्रधानमन्त्रीले अवलोकन गरेपछि उद्योग पहिलाको क्षमताशील अवस्थामा फर्कने अपेक्षा स्थानीयले गरेका हुन् ।
उद्योगको अनुगमनपछि प्रधानमन्त्री दाहालले देशकै ठूलो सिमेन्ट उद्योगको संरक्षण तथा यसको सुधारका लागि सरकारले योजना बनाइरहेको भन्दै चाँडै योजना जारी गरेर नयाँ कार्यविधिबाट सञ्चालन गरिने बताएका उद्योगका महाप्रबन्धक खगेन्द्र बस्नेतले जानकारी दिए । उद्योगलाई सञ्चालन गर्न नयाँ योजना बनाइरहेको भन्दै यसलाई थप सबल बनाएर लान सरकार प्रतिबद्धता रहेको प्रधानमन्त्री दाहालले जनाएका उनले बताए ।
प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै महाप्रबन्धक बस्नेतले भने, ‘शनिबार प्रधानमन्त्रीले अनुगमनपछि उद्योग सुधारका लागि प्रतिबद्धता जनाएका छन् । अब उद्योग सुधारका लागि सरकारको नीति कार्यान्वयन गर्दै पहिलाको अवस्थामा नै फर्काउने प्रयत्न गर्नेछौँ । यसमा उद्योग प्रशासन पनि कटिबद्ध छ ।’
प्रधानमन्त्री दाहालले उदयपुर सिमेन्ट उद्योगको संरक्षण गरी थप रोजगारीका अवसर सृजना गर्नुपर्ने भन्दै यसको सुधारका लागि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए।
उद्योग सुधारप्रति प्रधानमन्त्रीको सकारात्मक धारणाप्रति नेकपा एमाले प्रदेश सदस्य राजकुमार राईले भने, ‘दिनानुदिन जीर्ण बन्दै गइरहेको उद्योगलाई सुधार गर्न प्रधानमन्त्रीको प्रतिबद्धता आएकाले अब पहिलाको अवस्थामा आउनसक्ने सम्भावना बढेर गएको छ । यहाँका जनतामा आश जागेको छ ।’