काठमाडौं । समाजकल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले पदमा रहँदै अमेरिकी स्थायी बसोवास अनुमतिपत्र (पिआर) लिएको खुलेको छ । सासू उमा रेग्मी मन्त्री हुँदा सत्ता र शक्तिको दुरुपयोग गरेर परिषद्मा नियुक्ति पाएकी भट्टराईले अमेरिकी पिआरसमेत लिएको भेटिएको हो ।

पिआर लिएकोलगायतका उजुरी मन्त्रालयदेखि अख्तियारसम्म परेपछि उपाध्यक्ष भट्टराईले पदबाटै राजीनामाको बाटो लिएकी छिन् । आफूले राजीनामा दिइसकेको भट्टराईले बताइन् । तर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भने राजीनामाको मौखिक जानकारी पाए पनि औपचारिक पत्र आइनसकेको बताए । ‘स्वास्थ्य अवस्थाका कारण राजीनामा दिन लागेको विषय उहाँले मौखिक रूपमा जानकारी गराउनुभएको छ,’ मन्त्री आचार्यले भने ।

परिषद्मा नियुक्त हुँदा नै भट्टराईसँग अमेरिकी पिआर थियो । गत २५ भदौ ०७९ (१० नोभेम्बर २०२२) र ११ भदौ ०८० (२८ अक्टोबर २०२३) मा उनी अमेरिका गएको ‘ट्राभल डकुमेन्ट’मा पनि प्रस्थान उद्देश्य (पर्पोज अफ डिपार्चर) ‘पर्मानेन्ट रेसिडेन्ट’ अर्थात् स्थायी बसोवास उल्लेख छ ।

अमेरिकी पिआर बोकेर उपाध्यक्ष रहन मिल्छ रु भन्ने प्रश्नमा भट्टराईले आफ्नो विवाह अमेरिकी नागरिकसँग भएका आधारमा पिआर पाएको बताइन् । यद्यपि, अहिले पिआर रद्दको प्रक्रिया अघि बढाएको उनको दाबी छ । ‘मैले अमेरिकी नागरिकसँग विवाह गरेकी हुँ । अमेरिकाबाहिर ६ महिना बसेपछि स्टाटस आफैँ रद्द हुन्छ, अमेरिका आफैँले रद्द गर्ने प्रक्रियामा लान्छ,’ उनले भनिन् । तर, हालैको ट्राभल हिस्ट्रीले पिआर रद्दको प्रक्रिया चलेको देखाउँदैन । उनले वर्षमा दुईपटक अमेरिका जानुको कारण स्वास्थ्य उपचारका लागि भएको पनि दाबी गरिन् ।

नेपालको विद्यमान संविधान, कानुन, मापदण्ड र अभ्यासले पनि विदेशी पिआरधारीलाई सार्वजनिक नियुक्ति दिन नमिल्ने भनेको छ । नयाँ पत्रिकाबाट