काठमाडौं । रिक्त हुन लागेको राष्ट्रिय सभाका १९ सदस्यका लागि आज चुनाव हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
लुम्बिनी प्रदेशका लागि दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तयार गरिदै ।
कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बाग्मती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्यका लागि एउटा तथा पालिका प्रमुख र उपप्रमुखका लागि एउटा गरी हरेक प्रदेशमा दुई/दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार सातै प्रदेशबाट ५ सय ४९ प्रदेशसभा सदस्य र १४ सय ९८ पालिका प्रमुख उपप्रमुखले राष्ट्रियसभा चुनावमा मतदान गर्नेछन् । राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशबाट ५१ जना चुनावी मैदानमा छन् । आउँदो फागुन २० गतेदेखि राष्ट्रिय सभाका १९ सिट रिक्त हुदैछन् । मतदान विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
