बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले पनि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धमा बसेको बैठकले वैशाख १ गतेदेखि नगर क्षेत्रभरि सुर्तीजन्य पदार्थको उपभोग तथा बिक्रीमा पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको हो ।
उपमहानगरमा सुर्तीजन्य पदार्थको उपभोग तथा बिक्रीमा पूर्णरुपमा रोक लगाउने निर्णयलाई कडाइका साथ पालना गरिने नेपालगन्ज उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए।
वैशाख १ गतेभन्दा अघि नै सुर्तीजन्य पदार्थबाट हुने हानी नोक्सानीबारे विभिन्न माध्यमबाट पालिकाभर व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालयसँगै वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयहरूमा सुर्तीजन्य पदार्थको उपयोग र वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने र सुर्तीजन्य पदार्थको उत्पादन र बिक्री वितरण गर्ने निकाय एवम् व्यवसायीको तथ्याङ्क सङ्कलन गर्ने निर्णय पनि गरिएको स्वास्थ्य महाशाखा प्रमुख चन्दले बताए ।
