काठमाडौं : २२ जनवरी अर्थात् आज भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुने भएको छ । भारतको इतिहासमा यो राम मन्दिरको प्राणप्रतिष्ठानलाई नयाँ आयामका रूपमा लिइएको छ । लामो समयको संघर्षपछि हिन्दुले भगवान् रामको प्रतिमाको प्राणप्रतिष्ठा गर्न लागेका हुन् ।

राम मन्दिरको प्राणप्रतिष्ठाले भारतलाई मात्र नभई छिमेकी देश नेपाललाई पनि छोएको छ । भारतको अयोध्या र उत्तर प्रदेश मात्रै नभई नेपालको अधिकांश धार्मिक मठमन्दिरमा पनि सोमबार दीप प्रज्ज्वलन गरिन लागेको हो । अयोध्या हिन्दु र मुस्लिमका कारण लामो समयदेखि विवादमा पर्दै आएको थियो । सन् २०१९ मा नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले अयोध्यायको सो भूमि राम जन्मभूमिको भनी फैसला गरेपछि राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने बाटो खुलेको हो ।

अदालतले सो ठाउँलाई ‘रामको जन्मस्थल’ भनेर अदालतले मान्यता दिएको थियो । सोमबार राम मन्दिरको अभिषेक हुँदा दशकौंदेखि बाबरी मस्जिदभित्र राखिएको रामको पुरानो मूर्ति पनि ठूलो र नयाँ मूर्तिको साथमा मन्दिरको गर्भ गृहमा विराजमान हुनेछ ।

बाबरी मस्जिद भत्काएपछि पुरानो मूर्तिलाई लामो समय अस्थायी त्रिपालको मन्दिरमा राखिएको थियो । ४० वर्षको संघर्षको परिणतिको प्रतीक पनि जनवरी २२ हुनेछ ।