दार्चुला । दार्चुलामा ८० वर्षका बृद्ध र ७० वर्षका बृद्धाले धुमधामसँग विवाह गरेका छन् । अपि हिमाल गाउँपालिका–६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीले ८० वर्षको उमेरमा सांस्कृतिक तथा सामाजिक वैधानिक विवाह गरे ।

पनाती पनातिनी समेत भइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धूमधामसँग बिहे गरे । शुक्रबार बिहे गरेका धामी दम्पतिको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाति, ४ नातिनी, ३ नातिने बुहारी, ४ पनाती र ३ पनातिनी गरी जम्मा ३१ जना सदस्य रहेको बेहुला बाजेका नाति नाता पर्ने भगतसिंह धामीले बताए ।

बेहुला राइसिंह धामीलाई ८० वर्ष र बेहुली बिन्दु धामीलाई ७० वर्ष उमेर पुगेका छन् । दुवै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् । बुढेसकालमा बिहे गर्न पाउँदा रमाइलो अनुभूति भएको धामी दम्पतीको प्रतिक्रिया छ । यो उमेरमा धुमधामसँग विहे गरेर धामी दम्पत्तीले सबैलाई चकित पारेका थिए ।