सर्लाही । सरकारले समयमै उखुको मूल्य निर्धारण नगरिदिदा देशकै ठुला दुई चिनी उद्योगले उखु (पेल्ने काम) क्रसिङ रोकिएको छ । सर्लाहीको इन्दुशङ्कर चिनी उद्योग हरिवन र महोत्तरीको एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज रामनगरले तत्कालका लागि उखु क्रसिङ कार्य स्थगित गरेका हुन् ।

उखुको मूल्य तय नहुन्जेल चिनी उद्योग सञ्चालन नगरिदिन किसानले आग्रह गरेपछि दुबै चिनी उद्योगले उखु क्रसिङ रोकेका हुन् । दुवै चिनी उद्योगले सोमबारबाट उखु क्रसिङ काम सुरु गर्ने तयारी गरेका थिए । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखुको मूल्य निर्धारण नभएसम्म मिल सञ्चालन नगरिदिन आग्रह गरिएको जानकारी दिए । उनका अनुसार सर्लाही, महोत्तरी र रौतहटका अगुवा उखु किसानको हरिवनमा आइतबार बैठक नै बसेर मूल्य तय नभएसम्म चिनी उद्योग सञ्चालन हुन नदिने निर्णय गरिएको छ ।

इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले उखु किसानका सङ्घ सङ्गठनले तत्काल उखु क्रसिङ नगर्न भनी ज्ञापनपत्र बुझाएको जानकारी दिए । इन्दुशङ्कर र एभरेस्ट दुवै उद्योगले उद्योग सञ्चालनका लागि केही दिनअघि नै डोङ्गा पूजा गरिसकेका छन् ।

दुवै उद्योगले किसानलाई उखु काट्ने चलान (अनुमतिपत्र) बाँड्न पनि सुरु गरिसकेका थिए । चलान बाँडेपछि उद्योगमा दुई हजार क्विन्टल तथा विभिन्न स्थानका काँटामा पाँच हजार क्विन्टलभन्दा बढी उखु जम्मा भइसकेको उखु प्रबन्धक रजकले बताए । उद्योग सञ्चालन नहुन्जेल ती उखु अब डम्पिङ गरेर राखिने प्रबन्धक रजकले बताए । उनले अन्य किसानलाई तत्काल उखु नकाट्न सूचना गरिसकिएको र किसान महासङ्घले अर्को निर्णय नदिएसम्म उखु क्रसिङ स्थगित गर्ने बताए ।
सर्लाहीमा रहेका तीन वटा चिनी उद्योगमध्ये महालक्ष्मी चिनी उद्योग बगदहले केही दिनअघिदेखि नै उखु क्रसिङ सुरु गरिसकेको छ । सो उद्योगमा सोमबार दिउँसो आफूहरू पुगेर उखुको मूल्य निर्धारण नहुन्जेल मिल बन्द गरिदिन आग्रह गरेको उखु उत्पादक महासङ्घका अध्यक्ष मैनालीले बताए ।

उनका अनुसार अन्नपूर्ण चिनी उद्योग धनकौलका मालिकले सरकारले मूल्य नतोक्दासम्म उखु क्रसिङ सुरु नगर्ने प्रतिबद्धता जनाएका छन् । मङ्सिर १७ गते उखुको मूल्य निर्धारण गर्न भएको वार्तामा सरकारले गएको वर्षभन्दा ११ रुपियाँ बढाउने गर्ने प्रस्ताव गरे पनि उखु किसानले अस्वीकार गरेका छन् ।