जाजरकोट । दैनिक चिसो बढ्दै गइरहेको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै आएका चिसाको कारण भूकम्पपीडितहरुको जीवन कष्टकर बन्दै गएको छ । त्रिपालमुनि बस्न लागेको पनि उनीहरु करिव एक महिना भइसक्यो । एक महिना वित्तदासमेत राज्यको तर्फबाट त्रिपालवाहेक अरु न्यानो पाउन सकेका छैनन् ।

अस्थायी भवन बनाउन सरकारले दिने भनेको राहत अझै पाएका छैनन् । त्यसैकारण चिसो भुइँमै रात बिताउनु परिरहेको भेरी–२ का बिर्खबहादुर कार्कीको गुनासो छ । सरकारले अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार दिने निर्णय गरेको थियो । जसअनुसार पहिलो किस्तामा २५ हजार र निर्माण सम्पन्न भएपछि २५ हजार दिने सरकारको निर्णय छ । तर, केन्द्र सरकारले उक्त रकम निकासा गरिसके पनि स्थानीय तहहरूले वितरणमा ढिलासुस्ती गरिरहेको पीडितहरूको भनाइ छ ।

राहत पाउन स्थानीय तहहरूले भूकम्प प्रभावितको लाभग्राही फारम भर्न लगाएका थिए । रकम निकासाका लागि बंैक खाता पनि खोल्न लगाएका थिए । यी प्रक्रिया पूरा गरिसके पनि राहत रकम पाउन नसकेको पीडितहरूको गुनासो छ । ‘सरकारी रकम आउला र टहरा बनाउला भनेर कुर्दा कुर्दै महिना दिन बितिसक्यो,’ कार्की भन्छन्, ‘दिन प्रतिदिन चिसो बढिरहेको छ । रात काट्न मुस्किल छ । परिवारको बिजोग छ । तर, स्थानीय तहले रकम निकासा गर्न अनावश्यक ढिलासुस्ती गरिरहेका छन् ।’

भेरी–३ थाप्लेका किरणकुमार भण्डारीले भूकम्पबाट भत्केको घरको भग्नावशेष पनि हटाउन सकेका छैनन् । उनको घर भाडामा लिएर नापी कार्यालय बसेको थियो । भूकम्पले घर भत्किएसँगै दैलेख निवासी अमिन एलिना भण्डारी र उनका भाइ प्रवल शाहीको ज्यान गएको थियो ।

सरकारी ढिलासुस्ती र समन्वयको अभावमा पुनर्निर्माणमा ढिलाइ भइरहेको पीडितहरूको गुनासो छ । त्रिपालको चिसोले भूकम्पपीडितहरूको दिन प्रतिदिन ज्यान गइरहेको छ । चिसोले धेरैलाई थला पारेको छ । त्रिपालमा बसिरहेका सुत्केरी, गर्भवती, बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई चिसोले सताउन थालेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतीक्षा भारतीले बताइन् । चिसोका कारण अहिले करिव एक हजार बढी विरामी छन् ।