
रुकुमपश्चिम । हिउँदे वर्षा र हिमपातका कारण रुकुमपश्चिमका भूकम्पपीडितको जनजीवन थप कष्टकर बनेको छ । त्रिपालमुनि बस्दै आएका भूकम्पपीडितको स्वास्थ्य चिसोले गर्दा थप जोखिममा परेको छ । चिसोका कारण यहाँका बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक र दीर्घ रोगीको स्वास्थ्य अवस्था थप जोखिममा परेको छ ।
आठबिसकोट नगरपालिका–१४ की सुत्केरी कल्पना विकले चिसो असाध्यै बढेको बताइन् । कल्पनाको १९ दिने छोराको गत कात्तिक १७ को भूकम्पमा परेर मृत्यु भएको थियो । उनी आफैँ पनि घाइते थिइन् । उनले भनिन्, “सुत्केरी अवस्था छ, घाइते पनि छु, छोरा गुमाउँदाको पीडामाथि प्रकृतिले पनि झन् दुःख थपिरहेको छ ।” चौरजहारी अस्पतालमा शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी कल्पनाको शरीरमा लगाइएको टाँका खोल्न नपाउँदै उनी भूकम्पले भत्काएको घरमा चेपिएकी थिइन् । सासू, ससुरा र गाउँलेको सहयोगमा तत्कालै उद्धार भएर बाँचेकी उहाँ अहिले घाइते शरीरका साथ टेन्टमा बस्दै आएकी छन् ।
सानीभेरी गाउँपालिका–४ का भूकम्पपीडित भरे परियारका अनुसार सोमबार बिहानैदेखि पानी परेको र अग्लो लेकमा हिउँ परेकाले समस्या भएको छ । त्रिपालको सहारामा बसिरहेका गाउँका भूकम्पपीडित चिसोको मारमा परेका छन् । दिनभर आकाशमा भएको बदली र बेलुकापख परेको वर्षाले झन् समस्या थपिरहेको उनको भनाइ छ । पानीका कारण भूकम्प प्रभावित क्षेत्रका स्थानीयलाई निकै समस्या भएको सानीभेरी गाउँपालिका–४ का वडाध्यक्ष मनोज बुढाथोकीले जानकारी दिए ।
दिनदिनै बढेको चिसोका कारण भूकम्प प्रभावित क्षेत्रका बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र दीर्घरोगीलाई समस्या बढेको वडाध्यक्ष बुढाथोकीले बताए । प्रभावित सबै परिवारलाई त्रिपाल तथा टेन्ट र न्यानो कपडा उपलब्ध गराइएको तर पानी पर्न थालेकाले थप जोखिम निम्तने खतरा रहेको उनले बताए ।
बाहिर पानी पर्ने, त्रिपाल तथा टेन्टमा आगो बाल्दा आगलागी हुने जोखिमका कारण भूकम्प प्रभावितले आगोसमेत ताप्न पाएका छैनन् । अहिले भूकम्पबाट प्रभावित यहाँका करिब ३० हजार घरपरिवार घरबाहिरै त्रिपाल र टेन्टको सहायतामा बसिरहेका छन् ।










