सल्यान । सल्यानमा एउटै घरका आमाछोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धकुमाख–२ खानिगाउँका २८ वर्षीय कर्णबहादुर बस्नेत भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हत्यामा संलग्न भएको स्वीकार गरेको भन्दै प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो ।

प्रहरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएका बस्नेतलाई सार्वजनिक गरेको छ । भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका –२ मा ३२ वर्षीय रेवती थापा र उहाँका ९ महिनाकी छोरी ऋतुको शव फेला परेको थियो ।

अनुसन्धानका क्रममा उनीहरूको हत्या भएको पुष्टि भएको हो । आमाछोरीको हत्यागरी आरोपीले प्रमाण लुकाउन कोठामा आगो लागेर मृत्यु भएको देखाउन आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नवीन कार्कीले बताए ।
मृत भेटिएका रेवतीसँग सात वर्षअघि प्रेममा परेर शारीरिक सम्बन्धसम्म पुगेको र आफू विदेशमा रहेका बेला रेवतीले अर्कैसँग विवाह गरेपछि त्यसैको रिसिवीस्वरुप हत्या गरेको बस्नेतले बताएका छन् । विदेशबाट २६ गते नेपाल फर्किएलगत्तै २९ गते हत्या गरेको प्रहरीको भनाइ छ ।