दाङ । फिरन्ते जीवन विताइरहेका राउटे समुदायका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग भेटघाट गरेका छन् । विहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोली र मुख्यमन्त्रीबीच भेटघाट भएको हो ।

फोटो : राउटेहरुसंग लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी ।

राउटे शाहीले सरकारसंग दशै खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई दशै खर्च दिन आग्रह गरेका छन् । ‘अब दशै आइसक्यो, हाम्रो जनताले दशैमा बलि पनि दिनुपर्छ, खसी पनि खानुपर्छ, सरकारले पैसा दिनुपर्‍यो’, उनले भने, ‘८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनुपर्छ । सबै मत्रीहरुले हामीलाई दशै खर्च दिनुपर्‍यो, हामीले लगेर सबै जनतालाई बाड्ने काम हुन्छ । खसी किन्न पैसा चाहियो ।’ उनले आफुहरु अहिले दैलेखमा बसीरहेको र दशै खर्चका लागि दाङ आएको बताए । ‘तीज खर्चकै लागि आएका हौ’,उनले भने, ‘तिज गइगो अब दशै खर्च जुटाउनु परेको छ ।’

मुख्यमन्त्री चौधरीले राज्ले राउटे समुदायको लागि गर्न सहयोग गर्ने, दशै खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताए । उनले दशै खर्चका लागि आबश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताए ।

राउटेहरुलाई पहिलेदेखि नै सरकारले दशै खर्च दिदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने लुम्बिनीले पनि केहि सहयोग गर्छ, मुख्यमन्त्री चौधरीले भने, २/३ दिनमा सरकारको केही सहयोग हुन्छ । भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागिता रहेको थियो ।