दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज १३ गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि वसन्त जोशी र रामप्रसाद पोख्रेल भिड्दैछन् । जोशीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् भने पोख्रेलले नेकपा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् ।
जोशी यस अघिका निर्वाचनमा अध्यक्ष पदमै पराजित भएको व्यक्ति हुन् । उनले यसअघिको निर्वाचनमा वर्तमान अध्यक्ष टंकसिंह बुढाथोकीसँग पराजय वेहोरेका हुन् । जोशी एउटा शालिन र भद्र व्यक्ति हुन् ।
त्यसो त अध्यक्ष पदका अर्का उम्मेदवार रामप्रसाद पोख्रेल पनि शालिन र भद्र चरित्रका व्यक्ति हुन् । वर्तमान कार्यसमितिका उपाध्यक्ष रहेका पोख्रेल आफ्नो व्यवसायमा तलिन व्यवसायिक हकहित भनेपछि हुरुक्कै हुने व्यक्ति हुन् । संघको आफ्नो कार्यकालको जिम्मेवारी राम्रैसँग पूरा गर्ने व्यक्तिमध्ये एक पोख्रेल हुन् । शालिन, भद्र र सरल स्वाभावका पोख्रेल दाङ जिल्ला उद्योग वाणिज्य संघका उदाउदा र आशालाग्दा उम्मेदवार मान्न सकिन्छ ।
त्यसैगरी जोशीको नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, उद्योेग उपाध्यक्षमा भरत रेग्मी, बाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिबमा महेन्द्र बुढाथोकी, सचिवमा बिकास वली, कोषाध्यक्षमा जगत आचार्य र सहकोषाध्यक्षमा माधब खनालले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै पोख्रेल नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र पुन, उद्योेग उपाध्यक्षमा धुर्ब गहतराज, बाणिज्य उपाध्यक्षमा राज राना, महासचिवमा शालिकराम खनाल, सचिवमा भिमसेन डिसी, र कोषाध्यक्षमा प्रेम बुढाले उम्मेदवारी दर्ता गराएका छन् । सदस्य पदका लागि दुबै प्यानलबाट उम्मेदवारी दर्ता गराएका छन् ।
यसैबीच असोज १३ गतेको निर्वाचनको लागि प्रक्रिया अगाडि बढिरहेको वेला वर्तमान कार्यसमितिका केही पदाधिकारीसहितका व्यवसायीहरु प्रक्रिया नै त्रुटिपूर्ण रहेको भन्दै निर्वाचन प्रक्रिया स्थगित गर्नुपर्ने पक्षमा उभिएका छन् । संघका वर्तमान वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले पत्रकार सम्मेलन गरेरै अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । केही व्यवसायीहरुले सचिवलगायतका केही पदमा संघको नक्कली रसिद प्रयोग भएको भन्दै निर्वाचन स्थगित गर्न माग गरेका छन् ।
