कांग्रेसले आगामी एक वर्षमा सात लाख सदस्य थप्ने महत्वाकांक्षी योजना अघि सारेको छ । झन्डै ११ महिनापछि मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्तावमा सदस्यता बढाउनेदेखि पार्टीका केन्द्रीय विभाग विस्तारसम्मका योजना छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा र आफूले केही केन्द्रीय सदस्यको सहयोगमा कार्ययोजना तयार गरेको उनको भनाइ छ ।

‘२० साउनदेखि ०८१ असार मसान्तसम्म ‘घरघर जाऊँ पार्टी सदस्य बनाऔँ’ भन्ने राष्ट्रिय अभियान सुरु हुनेछ । अभियानअन्तर्गत कम्तीमा पाँच लाखदेखि सात लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्यले यो अभियान सुरु गर्ने प्रस्ताव छ,’ महामन्त्री थापाले बैठकमा भने ।

थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामा केन्द्रीय समिति बैठक र कार्यसम्पादन समिति बैठकलाई विधानअनुसार नियमित बनाउने, केन्द्रीय विभाग विस्तार गर्ने, अवधि सकिएका भ्रातृ संस्थाको १५ भदौभित्र तदर्थ समिति गठन गर्ने र ६ महिनाभित्र अधिवेशन गर्ने, अनलाइन सदस्यता वितरणको प्रबन्ध गर्ने, नीति महाधिवेशनको मिति तय गर्ने, पार्टीका दस्ताबेज डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्नेलगायतका विषय समेटिएका छन् । नयाँ पत्रिकाबाट