दाङ । लामो समयदेखि पानी नपर्दा भारतसँग सीमा जोडिएको दाङको कोइलाबासमा पिउने पानीको अभाव देखिएको छ । खडेरीका कारण पानीका मुहानबाट पानी आउन छोडेपछि स्थानीयहरुलाई पिउने पानीको अभाव हुन थालेको हो ।

यसरी पिउने पानीको अभाव देखिएपछि गढवा गाउँपालिकाले दमकलमा पानी भरेर स्थानीयलाई वितरण सुरु गरेको छ ।
कोइलाबासमा रहेका सरकारी, गैरसरकारी सङ्घ–संस्था तथा स्थानीयको घरघरमा पुगेर पानी वितरण गरिएको र यो प्रक्रिया पानीको व्यवस्थापन नहुँदासम्म चालिरहने गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए ।

गढवा गाउँपालिकाका अध्यक्ष पोख्रेल, गढवा ५ का वडाध्यक्ष लेखबहादुर थापा, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा र पालिका कर्मचारीको टोलीले पानी वितरण गरेको हो । दमकलबाटै भएपनि पानी विवरण गरेपछि त्यहाँका स्थानीयहरुले केही सहज महसुस गरेका छन् ।