बाँके । असारमा रोपाइ गर्नुपर्ने तर अहिलेसम्म वर्षात नहुँदा किसानहरुले विऊसमेत राख्न पाएका छैनन् ।
समयमा पानी नपर्दा कृषिमा मात्रै होइन गर्मीले मानवस्वास्थ्यलाई उदम बनाएको छ । तर असारमा रोपाइका लागि बाँकेको केही किसानहरुले तयारी गरेका छन् । सिँचाइ सुविधा नभएको स्थानमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर धानको बीउ राखिएको छ ।
खजुरा –४ ईगाउँस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष उज्ज्वल बिसीले अधिकांश उपभोक्ताले धानको बीउ राख्नका लागि खानेपानीको प्रयोग गरेको बताए ।
‘धान रोपाई गर्नुपर्ने समयमा धानको बीउ राख्न नपाएपछि किसानले खानेपानी मार्फत वितरण हुने पानी खेतमा सिँचाइ गरी धानको बीउ राखेका छन्’, उनले भने । यस पटक ह्याण्डपम्प समेत सुक्न थालेपछि किसानहरूले मोटरको साटो खानेपानीबाट वितरण हुने पानी खेतीका लागि प्रयोग गरेका छन् ।
बाँकेको, खजुरा, जानकी, बैजनाथलगायतका स्थानमा किसानहरूले मोटर र खोनपानी मार्फत बिउँ राखेका छन् । यसरी बीउ राखे पनि लामो समयसम्म बर्सात नभएका कारण बीउ जोगाउन मुस्किल परेको किसानहरूले जनाएका छन् । कतिपय किसानहरू बर्सात हुनासाथ रोपाइ गर्ने तयारीमा छन् ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमदले जिल्लामा हालसम्म धान रोपाई सुरु नभएको जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख अहमदले भन्नुभयो, ‘हाल किसानहरू धानको बिउँ राखिरहनुभएको छ । अबको १०–१५ दिनमा धान रोपाई सुरु हुन्छ ।’ बाँकेमा ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदैआएको छ ।











