काठमाडौँ । तराईमा तातो हावा (लू) चल्न थालेको छ। केही दिनदेखि बढ्दै गएको उच्च तापक्रमका कारण लु चल्न थालेपछि जनजीवन प्रभावित हुँदै गएको छ । यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् ।

जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने सम्भावना छ। पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा लू अझै साताभर रहने अनुमान गरिएको छ।

मध्य तराई छोएको सप्तरीदेखि भैरहवासम्मको भूभागमा लूको प्रभाव अत्यधिक छ। मौसमविद् गोविन्द झाले यी क्षेत्रमा बढ्दो क्रममा रहेको तापक्रम ४३ डिग्री सेल्सियस हुँदै उच्चतर्फ अग्रसर रहेको बताए । मध्य क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको छ। लु को प्रभावबाट जोगिन विज्ञहरुको सुझाव छ ।

यसैबीच अत्यधिक गर्मी बढेसँगै कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । त्यसको प्रत्यक्ष असर सबैभन्दा बढी विद्यालयमा परेको छ । गर्मीका कारण पठनपाठन गर्न समस्या भएपछि कपिलवस्तुका दुई पालिकाले सामुदायिक तथा निजी विद्यालय बन्द भएका छन् ।

कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालका अनुसार तराई क्षेत्रमा केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मीका कारण विद्यालयहरूमा पठनपाठनका क्रियाकलाप सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकाले पाँच दिनका लागि गर्मी बिदा दिइएको बताए । नगरपालिका भित्र जेठ २२ गतेदेखि जेठ २६ गतेसम्म सम्पूर्ण विद्यालयहरूमा गर्मी बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए ।