प्युठान । प्युठान नगरपालिका–४, थापाडाँडाको सरस्वती प्राथमिक विद्यालयमा ६८ वर्षअघि स्थाना भएको हो । यसलाई जिल्लाकै पुरानो विद्यालयको रुपमा चिनिन्छ । तर अहिले यो विद्यालयको अस्तित्व सङ्कटमा छ । सरस्वती प्राथमिक विद्यालयमा शैक्षिक सत्र सुरु भएको एक महिना बित्न लाग्दासमेत एक जना विद्यार्थी पनि भर्ना भएका छैनन् ।

अरू विद्यालयमा पठनपाठन अगाडि बढिसके पनि यो विद्यालय सुनसान छ । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थपलियाले अहिलेसम्म एक विद्यार्थी पनि भर्ना हुन नआएको बताए । उनले भर्नाका लागि अझै पनि घरदैलो अभियान सञ्चालन भइरहेको बताए ।
अघिल्लो शैक्षिक सत्रसम्म कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको विद्यालयको यस शैक्षिक सत्रमा कक्षा घटाएर १–३ बनाइएको छ । विद्यालय बन्द भयो भन्ने भ्रम अभिभावकमा परेको थपलियाको भनाइ छ ।

विद्यालयले निजीमा भर्ना भएका विद्यार्थीलाई फिर्ता ल्याउन पहलसमेत गरेको प्रधानाध्यापक थपलियाको भनाइ छ । २०१२ सालमा स्थापित सरस्वती प्राथमिक विद्यालयमा थापाडाँडा, कार्कीडाँडा, पाण्डेडाँडालगायत वरिपरिका विद्यार्थी अध्ययन गर्ने गर्थे । अहिले आफ्नो पायक पर्ने विद्यालयमा जाने गरेकाले समेत विद्यालयको भविष्य सङ्कटमा पर्न थालेको हो ।

सरस्वती प्राथमिक विद्यालयलाई कार्यदलले अर्को विद्यालयमा गाभ्ने भन्ने सिफारिस गरेको र यस शैक्षिक सत्रमा कक्षा घटाइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख वासुदेव पण्डितले जानकारी दिए । नगरपालिकाले यस शैक्षिक सत्रमा विद्यार्थी शिक्षक अनुपातका आधारमा पालिकाभित्रका छ वटा विद्यालयको तह घटुवा गरेको छ ।