काभ्रेपलान्चोक । जनआन्दोलन २०६२/०६३ मा घाइते ‘ज्यूँदो शहीद’ बनेपाका मुकेश कायस्थको निधन भएको छ । उनको उपचारको क्रममा बनेपास्थित शिर मेमो रियल अस्पतालमा बुधवार साँझ ६ः१८ बजे मृत्यु भएको हो ।

१८ वर्ष अघि अर्थात् वि सं. २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय घाइते हुनु भएको थियो । २०६२ साल चैत २६ गते काभ्रेपलान्चोकको उग्र चण्डी नालाका भीमसेन दाहालको पोखरामा गोली लागेर मृत्यु भएपछि दाहालको शव जिल्लामा ल्याउने तयारी भएर आन्दोलन चर्किएको बेलामा मुकेश साथीहरूसँग आन्दोलनमा सहभागी थिए ।

जनआन्दोलनका क्रममा घाइते भएका मुकेशलाई गत सोमबार सास फेर्न गाह्रो भएपछि उपचारका लागि शिर मेमो रियल अस्पताल लगिएको थियो ।

उपचारका लागि अस्पताल भर्ना हुनु भएको मुकेशलाई निमोनिया समेत देखिएको परिवार स्रोतले जनाएको छ । उपचारका क्रममा मृत्यु हुनु भएका ज्यूँदो शहीद मुकेशको शव राति नै घरमा ल्याइएको छ ।

जनआन्दोलनका क्रममा घाइते भई ओछ्यानमा नै पर्नु भएका मुकेशलाई वीर अस्पतालमा ११ महिना उपचार गराएर मुकेशलाई २०६३ फागुन ११ गते घर ल्याइएको थियो । सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपियाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एक जना अनमिको लागि वार्षिक तीन लाख ३८ हजार रुपियाँको व्यवस्था गरेको थियो । उनको निधनप्रति इन्द्रेणी अनलाइन परिवार स्तव्ध छ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।