काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहमध्येका ३४ वर्षीय सन्देश शर्माले बोकेको मोबाइलमा सुरुमा प्रहरीको खासै ध्यान गएन । प्रहरीले विनामुचुल्का मोबाइल अभियुक्तलाई नै जिम्मा लगायो । तर, पछि सोही मोबाइल पूर्वगृहमन्त्री बालकृष्ण खाणसम्म तानिने कडी बन्यो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत २९ चैतमा दाङका ३४ वर्षीय शर्मालाई पक्राउ गरेपछि माथिल्लो तहसम्मै तरंग फैलिएको थियो । विशेष गरी गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्री खाणलाई घटनाले तरंगित तुल्यायो । उनीहरू घटना सामसुम पार्न प्रहरीलाई प्रभावित गर्न उत्रिए । अनुसन्धान कार्यालयले पनि पक्राउ परेका शर्माको शरीर खनतलासी गरेन । ठगीको सामान्य मिसिल बनाएर शर्मालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठायो ।
प्रहरीसँगको बयानमा टेकनारायण पाण्डेले खाणको नाम लिए । त्यसपछि हामीले उनको मोबाइल डेटा विश्लेषण गर्यौँ । दुईजनाबीच लेनदेनको कुराकानी भएको देखियो । पुष्टि भएपछि खाणलाई पक्राउ गरिएको हो ।
शर्मा पक्राउ परेको दिन परिसरकै हिरासत कक्षमा बसे । भोलिपल्ट म्याद थपका लागि उनलाई जिल्ला अदालत काठमाडौं लगियो । यही क्रममा प्रहरीले शर्माको खल्तीमा मोबाइल फेला पार्यो । हिरासतमा रहेका व्यक्तिको खल्तीमा मोबाइल भेटिएको घटनाले प्रहरी परिसर काठमाडौंमा खैलाबैला मच्चियो । घटना रिपोर्टिङ हुँदै काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआइजी श्याम ज्ञवालीसम्म पुग्यो ।
कागजात मिलाएर प्रहरीले बल्ल मोबाइलको बरामदी मुचुल्का उठायो । फोनको ‘डेटा रिकभर’ गर्यो । अन्ततः सोही डेटा अनुसन्धानको बलियो प्रमाण बन्यो । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बरामद केही मोबाइल डिभाइस अभियुक्तसम्म पुग्ने माध्यम बनेको स्वीकार गरे । उनले भने, ‘अभियुक्तसँग मोबाइल बरामद भएको थियो । केहीको डेटा फर्म्याट गरिएका थिए । डेटा रिकभर गर्यौँ । त्योसँगै घटनामा संलग्नको केही नयाँ तथ्य खुल्दै गए । मोबाइल डिभाइसले अनुसन्धानमा केही मात्रामा सहयोग पुर्याउनु नौलो होइन ।’
प्रहरीका अनुसार शर्माको मोबाइल डेटामा पूर्वगृहसचिव पाण्डेसँग मेसेज आदानप्रदान भएको देखिन्छ । नेता खाणसँग पनि उनको कुराकानी भएको देखिन्छ । पूर्वउपप्रधानमन्त्री तथा निलम्बित एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपसँग शर्माले लेनदेनका विषयमा कुराकानी गरेको मोबाइल डेटामा देखिएको छ ।
त्यस्तै, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा नीरजसँग पनि शर्माले नक्कली शरणार्थीको विषयमा आर्थिक लेनदेन सम्बन्धमा कुराकानी गरेको मोबाइल डिभाइसमा प्राप्त डेटाले देखाएको छ । सोही प्रमाणपछि काठमाडौं प्रहरी परिसर नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित ठगी मुद्दालाई संगठित अपराधमा रूपान्तरण गर्ने निष्कर्षमा पुगेको हो ।
शर्मा मात्र होइन, पक्राउ परेका अभियुक्तहरू केशव दुलाल, सानु भण्डारीको मोबाइलबाट पनि धेरै उच्चपदस्थको संलग्नता खुलेको प्रहरी अधिकारी बताउँछन् । सचिव पाण्डेकै मोबाइलको डाटा रिकभर गर्दा पूर्वमन्त्री खाणविरुद्ध प्रमाण भेटिएका छन् । जसकारण यो मुद्दामा अभियुक्तका बलियो प्रमाण बनेका छन् ।
काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी कार्कीले नक्कली भुटानी शरणार्थी सम्बन्धमा आर्थिक लेनदेन भएको पुष्टि पाण्डे र खाणबीच भएको कुराकानीले पुष्टि गर्ने बताए । ‘प्रहरीसँगको बयानमा पाण्डेले खाणको नाम लिए । त्यसपछि हामीले उनको मोबाइल फोनमा प्राप्त डेटा विश्लेषण गर्यौँ,’ उनले भने, ‘दुईबीच आर्थिक लेनदेनको विषयमा कुराकानी भएको देखिन्छ । सोहीअनुसारका सन्देश आदानप्रदान भएको पनि देखिन्छ । यही कारण खाणलाई पक्राउ गरिएको हो ।’ नयाँ पत्रिकाबाट











