काठमाडौं । गठबन्धनका केही दलले केही मन्त्रालयमा आफ्नो दाबी नछाडेपछि बिहीबार रोकिएको मन्त्रिपरिषद् विस्तार आज शुक्रबार गर्न लागिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाबी दोहोर्‍याएका मन्त्रालयको विवाद टुंग्याउन सरोकारवाला दलहरूसँग संवाद गरिरहेका छन् ।

दिउँसोसम्म मन्त्रिपरिषद् विस्तार भई अपराह्न मन्त्रीहरूको शपथ हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताए

सत्ता बाँठफाँठमा केही सहमति नजिक पुगेको छ । जसमा कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा या परराष्ट्र मन्त्रालय भन्ने टुंगो लाग्न बाँकी छ । तर, रक्षामा उनी सन्तुष्ट नहुने देखिएका कारण परराष्ट्रको सम्भावना बलियो छ । यही आधारमा खड्काको टुंगो लागेपछि रमेश रिजाललाई कुन मन्त्रालय भन्ने तय हुनेछ ।

अर्थ मन्त्रालयमा डा. प्रकाशशरण महत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धनराज गुरुङ, कानुन मन्त्रालयमा डिगबहादुर लिम्बू र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा सीता गुरुङको नाम तय भएको कांग्रेस नेताहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयमा मोहनबहादुर बस्नेत या प्रदीप पौडेल भन्ने टुंगो लाग्न बाँकी छ । सहरी विकास मन्त्रालयमा एनपी साउद या बद्री पाण्डे भन्ने टुंगो लाग्न बाँकी छ । मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मा सभापति देउवालाई छ ।
ती पदाधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयमा सभापति देउवाले बस्नेतलाई ल्याउन चाहेका छन् भने महामन्त्रीद्वयको जोडबल प्रदीप पौडेल रहेकाले टुंगो लाग्न बाँकी छ । त्यस्तै, सहरी विकास मन्त्रालयमा सभापतिले एनपी साउदलाई ल्याउने चाह राखेका छन् भने इतर समूहले तीन मन्त्रालय आफूले पाउनुपर्ने भन्दै बद्री पाण्डेको नाम अघि सारेको छ ।

माओवादी मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले महिला एवं बालबालिका मन्त्रालय पाउने भएका छन् । ऊर्जा मन्त्रालयको जिम्मा शक्ति बस्नेतले पाउन सक्ने एक नेताले बताए । सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री सुदन किराँतीले निरन्तरता पाउने भएका छन् ।

जसपाले शिक्षा मन्त्रालय पाउने मोटामोटी सहमति भएको छ । जसपाले भने कृषि मन्त्रालय पनि दाबी गरेको छ । एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने भएको छ । यो मन्त्रालय उपमहासचिव प्रकाश ज्वालाले सम्हाल्नेछन् । उपाध्यक्ष बेदुराम भुसालले कृषि मन्त्रालय सम्हाल्ने भएका छन् ।

जनमतले उद्योग मन्त्रालय पाउने भएको छ । खानेपानीमन्त्री अब्दुल खान उद्योग मन्त्रालयमा सरुवा हुने भएका छन् । नेसपाका अध्यक्ष महिन्द्र राय यादवले खानेपानी मन्त्रालय सम्हाल्ने भएका छन् ।

लोसपाका शरत्सिंह भण्डारीले श्रम मन्त्रालय सम्हाले भएका छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय दिने तयारी छ ।