काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि शुक्रवार बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले दिए ।

‘सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ति, सुरक्षा व्यवस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्‍याउनेलगायतका सबै काम सकिएको उनले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयको आयोजनामा सात प्रदेशका प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयका सचिवहरू, सातै प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशकहरू, ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरू, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश र शाखा कार्यालयका प्रमुखहरू, बोर्डका अध्यक्ष, सदस्य सचिव, परीक्षा नियन्त्रण, उपनियन्त्रक कर्मचारीलगायतको भर्चुअल बैठक सम्पन्न भएको थियो ।

एसईईमा सहभागिता जनाउन यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार पाँच सय ९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा चार लाख ८४ हजार दुई सय २७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा ९ बाट १० मा आउँदा ३२ हजार तीन सय ६४ विद्यार्थी घटेका छन् ।

परीक्षामा सबैभन्दा धेरै बाग्मती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ विद्यार्थी सहभागी हुँदैछन् । प्राविधिक धारतर्फ झन्डै १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन् ।

यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसईईमा सहभागी हुँदैछन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।

एसईईका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन् । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी झन्डै ७८ हजार जनशक्ति परिचालन गरिएका छन्।

जापानमा पनि परीक्षा केन्द्र

बोर्डले यस वर्ष जापानमा पनि एसईई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् ।

जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसईईमा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो ।

त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने भएको छ ।