काठमाडौ । आफैले सत्ता गठबन्धनको समिकरण बदलेपछि आज फेरि प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् ।

जसका लागि प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले राष्ट्रिपतिको चुनावमा प्रतिपक्ष दल काग्रेससँग मिलेपछि उनलाई दिएको समर्थन एमालेसहितका केही दलले फिर्ता लिएका थिए । त्यसैका कारण उनले आज दोस्रोपटक विश्वासको मत लिनुपर्ने वाध्यता आएको हो ।

यसअघि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुस २६ गते विश्वासको मत लिएका थिए । प्रधानमन्त्रीमा कायम रहन प्रचण्डलाई १ सय ३८ सांसदको विश्वास पुर्‍याउनुपर्छ ।

प्रधानमन्त्रीको पक्षमा कांग्रेसका ८७, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १०, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, जनमोर्चा र आम जनता पार्टीका एकरएक तथा स्वतन्त्र २ गरी १ सय ७६ सांसदले विश्वासको मत दिने सम्भावना छ । यसअघि प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए ।