काठमाडौं । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विश्वासको मत दिएको नेपाली काग्रेसले राष्ट्रपति चुनावमा आफूलाई सघाउन प्रस्ताव गरेको छ ।
राष्ट्रपति चुनावको लागि मनोनयन गर्ने दिन नजिकिँदै गर्दा काग्रेसले माओवादीलाई राष्ट्रपतिमा सहघाउन आग्रह गरेको हो । यो विययमा भने माओवादी छलफलमै छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिँदै आएको माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।
बैठकमा राष्ट्रपतिमा कांग्रेस या एमाले कसलाई सघाउने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । हिजो मात्रै कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रपतिको चुनावमा सघाउन आग्रह गरेका छन् ।
उता सरकार बनाउदा राष्ट्रपति एमालेलाई दिने सहमति भएको भन्दै नेकपा एमाले भने राष्ट्रपति आफ्नो पार्टीको हुनुपर्ने दावी गर्दै आएका छ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदैछ । नयाँ राष्ट्रपति चयनको लागि २५ गते चुनाव हुँदैछ भने आउँदो शनिवार १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।











