घोराही, २ फागुन । भोलिदेखि घोराहीमा शुरु हुने ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रर्दशनी–२०७९’ को तयारी पुरा भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ को झिंगौरामा हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको प्रर्दशनी मूल आयोजक समितिले जनाएको छ । समितिले मंगलवार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर तयारी पुरा भएको जानकारी दिएको हो ।
महोत्सवको भोलि १ बजे सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । उद्घाटन अघि ११ बजे जिल्ला ट्राफिक चोकदेखि विभिन्न संस्कृति झल्कने झाँकीसहितका महोत्सव शोभायात्राको आयोजना गरिएको प्रर्दशनी मूल आयोजक समितिका संयोजक प्रदीप मजयैयाँले जानकारी दिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँँ’ भन्ने मूल नाराका साथ हुने महोत्सवको भौतिक निर्माणको काम अन्तरगत, मूल मञ्च, स्टल निर्माण, गेट निर्माण, बाल उद्यान निर्माण लगायत सम्पूर्ण तयारी पुरा भएको संयोजक बताए ।
उद्घाटन पूर्वको शोभायात्रामा सामाजिक संघ संस्था, टोल विकास संस्थाहरुको सहभागी हुने छ । शोभायात्रामा ब्यानर र झाँकीसहित सहभागीता जनाउन पनि मूल आयोजकले सम्पूर्ण संघ संस्था, टोल विकास संस्थाहरुलाई अनुरोध गरेको छ ।
महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्लाको लघु तथा घरेलु उद्योगबाट उत्पादित सामाग्री, कृषि समाग्री, हस्तकला समाग्रीहरुको प्रदर्शनीकालागी निःशुल्क रुपमा स्टलहरु उपलब्ध गराएको आयोजकले जनकारी दिएको छ । सम्बन्धित जिल्लाको नेपाल घरेलु तथा साना उद्योग महासंघको सिफारिसमा निःशुल्क रुपमा स्टलहरु उपलब्ध गराईने र जसका लागि महोत्सवमा एक सय स्टलहरु कृषी, लघु तथा घरेलु उद्योगहरुका लागि व्यवस्थापन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका वरिष्ठ उपाध्यक्ष लब अधिकारीले जानकारी दिए ।
महोत्सवको पहिलो दिन उद्घाटनका कार्यक्रमका लागि प्रवेश निःशुल्क राखिएको छ भने अन्य अवधिमा प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थीहरुलाई भने ५० प्रतिशत छुट प्रवेश शुल्क लाग्ने छ । त्यस्तै अपाङ्ग र जेष्ठ नागरिकलाई भने प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएको छ ।











