काठमाडौँ । एक पटक गृह मन्त्रालय पाएर गुमाएपछि पुनः गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीको शनिबार राति अबेरसम्म बसेको बैठक पनि बिनानिष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय आफैं राखेर अर्को ‘राम्रो’ मन्त्रालय दिने प्रस्ताव गरेपछि रास्वपाले आकस्मिक बैठक राखेको थियो । तर, बैठकले सरकारमा बस्ने कि बाहिरिने भन्ने निर्णय लिन सकेन ।
रास्वपा सभापति रवि लामिछानेसँग शनिबार अपराह्न भएको छलफलमा प्रधानमन्त्री दाहालले माओवादीसँग भएको अर्को मन्त्रालय लिन आग्रह गरेका थिए । बालुवाटार स्रोतका अनुसार आफू मन्त्री नहुने भएपछि लामिछाने अर्को मन्त्रालय लिनेबारे सकारात्मक देखिएका थिए । रास्वपाले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिन शनिबारसम्मको अल्टिमेटम दिएको थियो ।
संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकारमा बस्ने कि नबस्नेबारे आज आइतबार निर्णय गरिने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पुनः बैठक बोलाएको छ । रास्वपाले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिन शनिबारसम्मको अल्टिमेटम दिएको थियो ।











