दाङ, घोराहीको ट्राफिक चोकमा मंगलबार दिउँसो फरक दृश्य देखियो। केही युवाहरू विभिन्न सन्देश लेखिएका कागज छातीमा टाँसेर उभिएका थिए।

उनीहरू केही बोलेका थिएनन्। उनीहरूले भन्न चाहेका कुरा तिनै कागजमा लेखिएका थिए।उनीहरू सबै अलपत्र घोराही–तुलसीपुर सडक खण्डको काम छिटो सक्न दबाव दिन जुटेकाहरू थिए।

वर्षौंदेखि २८ किलोमिटर लामो घोराही–तुलसीपुर सडक विस्तारको काम अलपत्र छ। यात्रा गर्न सर्वसाधारणले निकै सास्ती खेपिरहेका छन्। सडकको अवस्थाकै कारण दुर्घटना बढेको छ। यही सडकमा भएका दुर्घटनामा परी २४ जना सर्वसाधारणले ज्यान गुमाइसकेका छन्। अरू कयौं अंगभंग भएका छन्।

त्यसैले युवाहरूले मंगलबार अस्तव्यस्त चारलेन सडकमा उत्रेर विरोध गरेका हुन्।अस्तव्यस्त सडकको विरोधमा उनीहरूले सडकमै उभिएर कविता वाचन गरे।सचेत नागरिक दाङको ब्यानरमा यो विरोध कार्यक्रमको व्यवस्थापन भने इञ्जिनियर विशाल अधिकारीले गरेका थिए। मंसिर ४ गतेको निर्वाचनमा उनी दाङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार थिए।