काठमाडौँ — नेपाल आदिवासी जनजाति महासंघले सरकारले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन सार्वजनिक बिदा दिन गरिएको प्रस्ताव लागू नगर्न माग गरेको छ । महासंघका अध्यक्ष गेल्ज लामा शेर्पाको नेतृत्व टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेको हो । ‘
पुस २७ गते पृथ्वीजयन्तीको रूपमा राष्ट्रिय एकता दिवस मनाउने र सो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णयप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष शेर्पा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेर पनि राजा महाराजाको जन्म दिनलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउन खोज्नु भनेको राजतन्त्रकै भक्तिगान गाउनु हो भन्ने हाम्रो ठहर रहेको छ ।’
एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको न्यूनतम कार्यक्रमको मस्यौदामा नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वीजयन्तीका दिन पुस २७ मा सार्वजनिक बिदा दिने प्रस्ताव छ । सरकारमा सहभागी हुन राप्रपाले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने सर्त राख्दै आएको छ ।










