गायिका समीक्षा अधिकारीको सामाजिक सञ्जाल अचेल नकारात्मक कमेन्टले भरिएको हुन्छ । जुनसुकै तस्वीर अथवा टिप्पणी लेखे पनि उनलाई गालीललौजकै तहमा पुगेर नकारात्मक कमेन्ट गरिन्छन् ।
आफूमाथि नकारात्मक कमेन्टको वर्षा हुन थालेपछि अधिकारीले कानुनी उपचार खोज्ने चेतावनी दिएकी छन् । देशमा साइबर अपराधविरुद्धको कानुन पनि भएको उल्लेख गर्दै उनले नकारात्मक कमेन्ट लेख्नेविरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिएकी हुन् ।
उनले महिलामाथिको अन्याय र विभेदबारे नजान्नेहरूले एउटी नारीको चरित्रमा प्रश्न उठाउने गरेको बताएकी छन् । ‘मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरू देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन्’, उनले भनेकी छन् ।
यद्पि यस्ता कुराहरूले आफूलाई कमजोर नपार्ने बताउँदै उनले अगाडि लेखेकी छन्, ‘आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन । नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।’











