बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ मा रहेको नारच्याङ झरना नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएको छ ।
नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना अवलोकनका लागि आउने पर्यटकको चहलपहल बढेको हो । झरनाले नारच्याङमा पर्यटकको चहलपहल बढाएको स्थानीय अन्नपूर्ण युवा क्लवका अध्यक्ष टक पुनले बताए ।
‘चार/पाँच वर्षअघिसम्म ओझेलमा रहेको यो झरना सुनसान थियो,’उनले भने, ‘झरना नजिकै पुग्ने पदमार्ग निर्माण र प्रचारप्रसार भएपछि स्वदेशी र विदेशी पर्यटक आउन थालेका हुन् ।’
दैनिक एक सय जना स्वदेशी तथा विदेशी पर्यटक झरना अवलोकन गर्न आउने पुनले बताए । अन्य समयको तुलनामा विदाको दिन पर्यटक बढी आउने गर्छन् । परिवार, सहकारी, विद्यालय, कलेज र विभिन्न संघ संस्थाबाट सामूहिक भ्रमणमा आउने गरेका हुन् । नारच्याङ झरना सुन्दर, आकर्षक र मनमोहक रहेको अवलोकनका लागि गएका बेनीका सचिन शाक्यले बताए ।











