घोराही । घोराही उपमहानगरपालिकाले बुधबार देखि पाँचांै मेयर कप फूटबल प्रतियोगिता शुरु गरेको छ । गतवर्ष कोरोना संक्रमणका कारण रोकिएको खेल यस वर्षबाट फेरि शुरु भएको हो । घोराही उपमहानगरपालिका १८ नवलपुर खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभयो ।

नगरका १९ वटै वडाबाट खेलाडीहरुको प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले खेलकूदको विकासका लागि नगरस्तरीय खेलकूद विकास समिति गठन गर्न लागेको जानकारी दिनुभयो । त्यसका लागि कार्यविधि बन्दै गरेको र त्यसले नगर भित्र सञ्चालन हुने सबैखाले खेलकूदको एकीकृत विकास गर्ने उल्लेख गर्नुभयो । खेल क्षेत्र पनि सामाजिक विकासको एउटा अभिन्न अंग बनेको उहाँको भनाइ थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले खेलकूद नै अनुशासनको पर्यायवाची भएको बताउनुभयो । खेल क्षेत्र व्यवसायका रुपमा समेत अघि बढेको भन्दै दक्ष र योग्य खेलाडी उत्पादन गर्ने घोराही उपमहानगरको योजना रहेको जानकारी दिनुभयो ।

त्यसैगरी प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, केदारराज श्रेष्ठलगायतले स्थानीय सरकारले खेलकूदको क्षेत्रमा गरेको लगानीलाई खेलाडीहरुले भरपुर फाइदा लिन सक्नुपर्ने बताउनुभयो ।

सामाजिक विकासको एउटा आधार खेल क्षेत्र पनि भएको भन्दै वक्ताहरुले यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताउनुभयो । सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेयको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सामाजिक विकास महाशाखाका कर्मचारी विपना बर्तौलाले गर्नुभएको थियो ।

उद्घाटन सत्रपछि दुईवटा खेल भएका छन् । घोराही उपमहानगरपालिका वडा नं. ६ र १८ बीच भएको थियो । सो खेलमा ४–१ को अन्तरले घोराही–१८ बिजयी भएको छ । त्यस्तै वडा नं. १० र १२ बीच भएको दोस्रो खेलमा १० ले १२ लाई २–० अन्तरले जितेको थियो ।