काठमाडौँ । सात दलीय सत्ता गठबन्धन यतिखेर सरकारलाई दुई तिहाइ बहुमत पुर्याएर सर्वशक्तिमान बन्ने चाहनामा छ । सर्वशक्तिमान सरकारको नेतृत्व गर्ने रहन प्रधानमन्त्री पुष्पकदल दाहाललाई हुनु स्वभाविक हो । त्यसभन्दा बढी चाहना संसदको दोस्रो ठूलो दल एमालका अध्यक्ष केपी शर्मा ओलीको छ । आफूबाट टुक्रिएर बनेको नेकपा एसको १० सिट र स्वतन्त्र सांसदहरु समेत पार्टीमा भित्र्याउन पाए संसदको सबैभन्दा ठूलो दल एमाले भन्ने थियो भन्ने ओलीको चाहना देखिन्छ । त्यससो हुँदा एमाले र अध्यक्ष ओली जसरी पनि नेकपा एस र स्वतन्त्र सांसदहरुलाई आफूतिर आकर्षित गर्न लागि परेका छन् ।

एमालेका एक शीर्ष नेताका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हठात् प्रधानमन्त्री बनाउनुमा एमालेलाई पहिलो दल बनाउने एमाले अध्यक्ष ओलीको लामो डिजाइन छ ।

‘अध्यक्ष ओली प्रचण्डसँग मिल्नु हाम्रो पार्टी सरकारमा भाग लिनु एमाले कमजोर भएको होइन,’ ती नेता भन्छन्, ‘अझ एमाले शक्तिशाली रूपमा उभिएको हो यो कुरा कतिले बुझेका छन् । राजनीतिमा स्थायी शत्रु हुँदैन । यो जुवा जस्तै हो कता पासा पल्टिन्छ थाहा नै हुन्न ।’

पार्टीका अनन्तरिक विषय सबै खुलासा गर्न नमिल्ने भन्दै ती नेताले भने– ‘सबै कुरा बाहिर भन्न मिल्दैन । अध्यक्ष ओली पछिल्लो समय लचिलो हुनुभएको छ । उहाँले नै प्रचण्डलाई माधव नेपालको पार्टीलाई एमालेसँग मिलाइदिनुहोस् म तपाईँलाई सहयोग गर्छु भन्नु भएको हो । माधवजीको पार्टी र एमाले एउटै नीति, सिद्धान्त र घर भएका पार्टी हुन् । अहिले खटपट मात्र भएको हो । हामी मिल्छौँ र मिल्नु पर्छ ।’

यस्तै, एमालेका अर्का शीर्ष नेताले पनि एमाले अध्यक्ष ओली एकीकृत समाजवादीसँग एकता गरेर १० सिट बढाउने दाउमा रहेको कुरामा सहमति जनाए ।

उनले भने, ‘समाजवादीका १० सांसद थप्दा हाम्रो सिट ८८ हुन्छ । यसो हुँदा हामी बलियो बन्छौँ र भोलि सत्ता गठबन्धनमा रहेका अन्य पार्टीहरूले तलमाथि गरे भने पनि सरकारमा बहुमत पुर्‍याउन सहज हुन्छ ।’

हाल ८९ सिटसहितको सबैभन्दा ठूलो दल कांग्रेस सत्ताबाहिर छ । यस्तोमा नेकपा एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनता समाजवादी पार्टी (जसपा) राप्रपा, जनमतलगायत ७ दल र ३ स्वतन्त्र सांसदले समर्थन गरेकैले माओवादी नेतृत्वको सरकार बनेको छ ।

एमालेले समाजवादीका १० सांसद र २ स्वतन्त्र थपेर कांग्रेसलाई उछिन्न खोजिरहेको देखिन्छ । तर नेकपा एस पार्टी एमाले अध्यक्ष ओलीसँग वाक्क भएर एमालेतिर मिल्ने कि सरकारलाई समर्थन मात्र गर्ने भन्ने कुराको निर्णयमा पुग्न सकेको छैन । यसो हुँदा एमाले पनि मिल्न र मिलाउन जोडबल गरिरहेको छ । नेपाली कांग्रेसलेमा ८९ सांसद छन् । ठुलो पार्टी भएकाले कुनै पनि बेला कांग्रेसले सरकारमा जान दाउ छोप्ने भएकाले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्ड तानाबाना बुनिरहेका छन् ।

उनले समाजवादी पार्टीमा पनि दुई धार देखिएकाले एउटालाई मिलाए अर्का नमिल्ने समेत बताए । उनले माधव नेपाल र झालनाथ खनाललाई कटाक्ष गर्दै भने,‘ जेएन र माधव नेपालको पनि समाजवादीमा लडाईं छ । उहाँहरुले एकअर्काको सल्लाह नमानेको पाइयो । यसो हुँदा धेरै कुराहरू हामी कहाँ आइपुगेका छन् । समाजवादीका तल्लो र माथिल्लो तहका कार्यकर्ता पनि हामीसँग मिल्न इच्छुक हुनुहुन्छ ।’

एमालेका अधिकांश नेताले समाजवादी पार्टी चाँडै नै एमालेसँग विलय हुने सङ्केत गर्दै हाल सरकारमा सहकार्य गर्न एसलाई एमालेले ल्याएरै छाड्ने तर्क गर्छन् । प्रचण्डलाई ओलीले नेकपा एससँग आफूहरू मिलाइदिने पहल लिन पटक पटक भनेको ती नेताहरुको भनाइ छ ।

एमालेका शीर्ष एक नेताले मकालुखबरसँग भने, ‘ओलीजी र हामी नेकपा एसलाई हाम्रो पार्टीमा ल्याउन लागेका छौँ । उहाँहरू हाम्रो पूर्व सहकर्मी हो । मिलेर त जानुपर्ला नि, उहाँहरूलाई हामी पुरानो घर फर्काउने तयारीमा छौँ ।’

स्वतन्त्र सांसद किरणकुमार साह एमालेमा प्रवेश गरेका छन् । यसो हुँदा एमालेले पाँच वर्षमा आफूलाई ठुलो दल बनाउने सम्भावना ज्यादै छ । अर्का स्वतन्त्र सांसद योगेन्द्र मण्डललाई एमालेमा मिलाउने प्रयास जारी छ । ती नेताले भने, ‘ मण्डल पनि सकारात्मक हुनुहुन्छ । केही समयमै एमाले देशको पहिलो दल बन्छ र प्रतिनिधि सभामा ९० सांसद् एमालेका हुन्छन् । यसका लागि हामीले कसरत गरिरहेका छौँ । कांग्रेस भन्दा हामी ठुलो पार्टी बन्छौँ ।’

हाल ओलीले नेपाललाई राष्ट्रपति बनाउन सक्ने चर्चा चलेको छ । तर, एमाले र एकीकृत समाजवादी दुवै पार्टीका नेताहरू एकताको कुनै आधार बनिनसकेको बताउँदै आएका छन् ।

राष्ट्रपति अहिले को हुने भन्ने निर्णय भएको छैन । समाजवादी पार्टी सरकारमा आए राष्ट्रपति दिएर मनाउने ओलीको योजना छ । ओलीले आफ्नो योजना पूरा गर्न प्रधानमन्त्री प्रचण्डलाई गुहार मागिरहेको ओली निकट स्रोतले स्वीकार गरेको छ ।

यदि समाजवादी पार्टी सरकारमा भाग नलिने भए नेकपा एमालेको भागमा राष्ट्रपति पर्ने छ । हाल एमालेबाट राष्ट्रपतिका लागि पार्टीका उपाध्यक्ष सुवासकुमार र अष्टलक्ष्मी शाक्यको नाम चर्चामा छ । तर एमालेले नेकपा एसलाई सरकारमा ल्याउन राष्ट्रपति दिएर फकाउन लागेको बताइएको छ ।

तर, एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जसपाबीच पार्टी एकताको तयारी चलिरहेकोले ओलीको उक्त चाहना पूरा नहुने पनि केही नेताहरुको अपेक्षा छ । यो विषयमा एमाले नेताहरु हल्ला मात्र भएको यसमा कुनै तुक नरहेको तर्क गर्छन् ।

उनीहरु समाजवादी पार्टी एमालेसँग नै मिल्ने बलियो तर्क दिन्छन् । जसपाका १२ सांसद छन् । उसको थ्रेसहोल्ड पनि कटाएको छ । उसको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट छ । यदी एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता भए सो पार्टीका २२ सांसद पुग्नेछन् । उक्त पार्टी संसदमा चौथो ठूलो दल बन्ने छ । हाल २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल छ ।- मकालु खबर