काठमाडौं : फिल्म ‘२ नम्बरी’ सुपरहिट भएपछि निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्मको नाम ‘नांगो गाउँ’ राखिएको छ । मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । फिल्ममा जय श्रेष्ठको लगानी रहनेछ ।

फिल्ममा नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भएका छन् । मिरुना र दयाले यसअघि यो वर्षको ब्लकबस्टर फिल्म ‘कबड्डी ४’मा अभिनय गरेका थिए । यी दुई बाहेक अन्य कलाकारको छनोट चाँडै नै हुने निर्देशक लामाले बताए ।

यो फिल्ममा दयासँगै अर्का एक जना नायकको पनि मुख्य भूमिका रहने बताउँदै दीपेन्द्रले केही दिनमा नै सार्वजनिक गर्ने बताए ।फिल्मलाई राजनीतिक कथामा प्रस्तुत गर्ने तयारी दीपेन्द्रको छ ।

फिल्मको छायांकन चैत्र महिनाबाट सुरु हुनेछ । फिल्मको कथा लेखन अन्तिम चरणमा पुगेको भन्दै उनले कुनै पहाडी गाउँमा फिल्मको छायांकन हुने बताए ।
लामाको यो पाँचौ निर्देशकीय फिल्म हुनेछ । उनले, ‘घामपानी, गोपी, छ माया छपक्कै र २ नम्बरी’ जस्ता फिल्म निर्देशन गरेका छन् ।