कुनै समय देशको प्रमुख पार्टी बनेर शासन सत्ता चलाएको माओवादी केन्द्रमा जनताको विश्वास घट्दै गएको छ । नेपालमा भएका विभिन्न निर्वाचनहरुमा एकपछि अर्कोपटक लोकपृय मत घट्दै जानुको मुख्य कारण के हो ? राजनीतिक विश्लेषक सर्जन गौतम यस्तो लेख्छन ।
‘माओवादीको समानुपातिकको घट्दो ट्रेण्डले के देखाउँछ भने यो पार्टीले नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्न सकेको छैन ।
यसको कारण दशवर्षे जनयुद्ध र ६२/६३ को आन्दोलनपछि यो पार्टीले नयाँ एजेण्डा दिएको छैन र अवसरमा पनि जनयुद्धको लिगेसी खोज्ने प्रवृत्ति कायम छ ।
समानुपातिक, समावेशी, संघीयता सबै त्यसबेलाकै एजेण्डा हुन् ।अबको एजेण्डा सर्वसुलभ र गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी बाहेक अरु हुनै सक्दैन ।जनयुद्ध १० वर्ष चलेको हो , त्यसयता नै १७ वर्ष बितिसक्यो । पछि जन्मेको कारणले युद्धमोर्चाको अनुभव नभएको मानिस माओवादीमा के आकर्षण देखेर आउने ?
पुराना पुस्ता वैद्य- विप्लवको रुपमा, बाबुरामको रुपमा वा वादलको रुपमा लाखापाखा लागे । प्राकृतिक रुपमा पनि मृत्यु , आप्रवासन लगायतले पनि सदस्य कम हुँदै जान्छ । पुराना पात झरेर नयाँ पात पलाएजस्तै नयाँ पुस्तालाई आकर्षित गर्न नसक्दा पार्टी चल्दैन । जनयुद्धमा तेस्रो ठूलो बलिदान गर्ने बर्दिया किन निल भयो त भन्दा रोल्पा र रुकुमको तुलनामा यसले नगण्य अवसर पाएको रहेछ ।’