निर्वाचनअघि प्रचारप्रसारका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले २० लाख समानुपातिक मत ल्याउने दाबी गरेका थिए । उनले सबैभन्दा धेरै मत ल्याएर आफ्नो पार्टी पहिलो बन्ने पनि बताएका थिए ।
तर, एक करोड चार लाख समानुपातिक मतगणना भइसक्दा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । अर्थात् तीन लाख ल्याउन पनि हम्मे हम्मे परेको छ ।
डेढ वर्षअघि मात्र एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । पार्टी गठन भएको आठ महिनापछि भएको स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले एक महानगरपालिका, एक उपमहानगरपालिका सहित १२ नगरपालिका प्रमुख, आठ गाउँपालिका उपाध्यक्ष, १९० वडाध्यक्ष सहित निर्वाचित/निर्विरोध भएका ३५ हजार ९७ जनप्रतिनिधिमध्ये नेकपा एस को हिस्सा दुई दशमलव ८१ प्रतिशत हो ।
त्यसैले संसदीय निर्वाचनमा पनि आफ्नो पार्टीले उल्लेख्य मत ल्याउने नेता नेपालको अपेक्षा थियो । तर, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने सम्भावना न्यून छ ।
हालसम्मको मतगणनाले एकीकृत समाजवादी पार्टी नबन्ने सम्भावना प्रबल छ । अझै दोलखाको समानुपातिक मत गन्न बाँकी छ । एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न अझै १७ हजार मत आवश्यक पर्छ । तर, अहिलेसम्मको मतगणना हेर्दा त्यो सम्भावना छैन ।
राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएमा एकीकृत समाजवादीले संसद् सचिवालयबाट पाउने सेवासुविधा सबै गुमाउने छ । त्यति मात्र होइन, राष्ट्रिय पार्टीको हैसियतमा नभई निर्वाचित सासंदहरू संसदमा स्वतन्त्र दलको हैसियतमा रहनेछन् ।
बरु एमाले अध्यक्ष केपी ओलीले चुनावी भाषण र मिडियामा दिएको अन्तर्वार्तामा दाबीका साथ माधवकुमार नेपालको पार्टी राष्ट्रिय पार्टी नबन्ने बताएका थिए । चुनावी परिणामले एकीकृत समाजवादी त्यही बाटोमा अग्रसर भएको देखिएको छ ।











