बुटवल । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले आगामी सरकार सत्ता गठबन्ध र सरकारको प्रधानमन्त्री आलोपालो गर्ने निर्णय भएको बताउनुभएको छ ।

दाङ क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की नेतृ शर्माले सरकारको नेतृत्व आलोपालो गर्ने निर्णय भएको तर पहिला कसले नेतृत्व गर्ने भन्ने बारेमा सहमति जुटाउनुपर्ने बताउनुभयो । शुक्रबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्रीमा दाबी रहनु स्वाभाविक भएको पनि बताउनुभयो ।

रिपोर्टस् क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निर्णय पार्टीको मात्रै भएको उल्लेख गर्दै यसको विषयमा बाहिरबाट टिकाटिप्पणी आवश्यक नरहेको बताउनुभयो । उहाँले माओवादी केन्द्र पनि गठबन्धनको दोस्रो ठूलो दल भएको उल्लेख गर्दैै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित छलफल गरेर प्रधानमन्त्री टुंगिने बताउनुभयो । उहाँले माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने प्रतिक्रया दिदै माओवादीलाई विश्वास गर्न आग्रह गर्नुभयो ।

पत्रकारहरूको जिज्ञासाको जवाफ दिदै शर्माले पार्टीले जुनसुकै मन्त्री दिए पनि स्वीकार्दै त्यसको जिम्मेवारी पूरा गर्न आफू सक्षम रहेको बताउनुभयो । गठबन्धनको सरकार रहेकोले अहिले नै यो मन्त्री भनी हाल्ने अवस्था नरहेको उहाँको भनाइ छ ।