काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानविरुद्ध अर्को साता हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको कप्तानी रोहित चन्दले गर्ने भएका छन् । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहितले कप्तानी सम्हालने भएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पाकिस्तानविरुद्ध २३ सदस्यीय टोलीको घोषणा गर्दा रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । आइ लिग क्लब राउन्ड ग्लास पन्जाब एफसीमा व्यवस्त रहेका कारण किरणले पाकिस्तानविरुद्धको खेल गुमाउने भएका हुन् ।
उनको अनुपस्थितिमा गोलकिपरमा विशाल श्रेष्ठ, दीपक कार्की र विकेश कुथु रहेका छन् । रोहितसहित रक्षापक्तिमा अनन्त तामाङ, विकास तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का रहेका छन् ।
मिडिफल्डमा तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज ज्यू ठकुरी, पुजन उपरकोटी, आभाष लामिछाने, अन्जन विष्ट रहेका छन् । यसअघि गत महिना बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा टोलीमा नरहेका नवयुग श्रेष्ठले राष्ट्रिय टोलीमा पुनरामगन गरेका छन् । उनीसँगै फरवार्डलाइन विमल घर्तीमगर, सुनिल बल र रितक खड्का रहेका छन् ।
नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । एन्फाले भिआइपीतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको छ ।










