छठ पर्वको आज  दोस्रो दिन, खरना गरी मनाइँदै छ ।  छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यस दिन  व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ ।

शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतातुले कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् ।

यसवर्ष तिथिको घटबढले शुक्रबार तृतीया र चौथी दुवै परेको थियो। पर्वको प्रारम्भमा व्रतालुले शुक्रबार ‘नहाय–खाय’ विधि पूरा गरे । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल तृतीयाकै दिन शुक्रबार नै व्रतालुले ‘अरबा–अरबाइन’ गरे ।

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवतमा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।