काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड  का सचिव जय साहले सन् २०२३ को एसिया कपमा क्रिकेट खेल्न भारतीय टिम पाकिस्तानमा नजाने बताएका छन् ।२०२३ को एसिया कपको जिम्मेवारी पाएको पाकिस्तानमा भारतले भ्रमण नगर्ने बताएपछि प्रतियोगितामाथि नै प्रश्न उठेको छ ।

मुम्बईमा भएको बीसीसीआईको ९१ औं वार्षिक साधारण सभामा पाकिस्तानको भ्रमणको विषयले प्रवेश पाएको थियो ।बीसीसीआईका सचिव तथा एसियन क्रिकेट काउन्सिलका अध्यक्ष जय साहले एसिया कप तटस्थ मैदानमा खेल्नुपर्ने सुझाव दिएको बताएका छन् ।

‘एसिया कप २०२३ तटस्थ मैदानमा हुनेछ । यो मैले एसीसीको अध्यक्षको नाताले पनि भनिरहेको छु । हामी पाकिस्तान जान सक्दैनौ र उनीहरु पनि भारत आउन सक्दैनन् । त्यसैले प्रतियोगिता तटस्थ स्थानमा हुनेछ’, साहले भने ।

यी दुईले सन् २०१५–१६ को सिजनमा तटस्थ मैदान श्रीलंकामा शृंखला खेलेका थिए ।अष्ट्रेलियामा चलिरहेको टी–२० विश्वकपमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । मेलबर्न क्रिकेट ग्राउन्डमा हुने भारत र पाकिस्तानबीचको प्रतिस्पर्धालाई विश्वभरका क्रिकेटप्रेमीले महत्वका साथ हेर्ने गरेका छन् ।